म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुईनेमंगलेकी ९३ वर्षिया उदिमा कमिनी निकै खुसी देखिन्थिन् । डाँडामाथिको अस्ताउँदो घाम भइसकेकी कमिनी सडक सञ्जालमा गाउँ जोडिएपछि मोटर चढ्ने सपना पुरा भएको भन्दै फुरुंग थिइन् । विगतमा मोटर गुडेको हेर्न डेढदिनको पैदलयात्रा गर्नुपर्ने भएपनि अब उनी घरबाटै सदरमुकाम बेनीमा करिब चारघण्टाको मोटर यात्रामा पुग्न सक्नेछिन् । मोटर चलेपछि सहर घुम्न जाने उनको रहर पनि छ ।

कमिनीजस्तै रघुगंगा–४ दग्नामका ९६ बर्षिय दलबहादुर गर्बुजा गाउँघरमै सवारीसाधन पुगेपछि हर्षित भए । ‘अब घन्टौसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज भएको छ,’ उनले भने । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने दर्जिमा, चिमखोला र कुईनेमंगलेमा सवारीसाधन गुड्न थालेपछि स्थानीयवासीमा उत्साह र खुशियाली छाएको छ ।

सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिंगर भिरमा पुगेर रोकिएको सडक अहिले गाउँ पुगेको छ । सोमबार दर्जिमाजामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक कमिनी र गर्बुजाले रिवन काटेर मोटरबाटो उद्घाटन गरे । ‘गाउँमा सडक आउँला भन्ने आश थिएन, अहिले गाउँ जाने मोटरबाटोको उद्घाटन नै गर्ने अवसर पाइयो, घरआँगनमै सवारी साधन गुड्न थाल्यो,’ वृद्धा कमिनीले भनिन् ।

पैदल हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिंगर भिर’ मा मोटर आएको देख्दा सपनाजस्तै लागेको उनले बताए । गाउँपालिकाको अगुवाईमा जलविद्युत आयोजना तुँदी पावर कम्पनी र संयुक्त उर्जा कम्पनीको साझेदारी तथा गण्डकी प्रदेश र संघीय सरकारको समेत बजेटमा वडा नं ४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमंगलेमा करिब १५ करोड रुपैयाँ लागतमा सडक सञ्जाल विस्तार गरिएको छ ।

करिब ३८ किलोमिटरको गलेश्वरदेखि कुईनेमंगलेसम्म सडकको ट्रयाक विस्तार गरिएको छ । कडा चट्टान भएको यस भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए । ‘गौरवको आयोजनामा ठूलो सफलता मिलेको छ, हाम्रो अभियानमा जलविद्युत आयोजनाले समेत ठूलो लगानी ग¥यो,’ अध्यक्ष भण्डारीले भने ।

उनले सडक सञ्जाललाई हरेक वर्ष मर्मत सहितको योजना समेत बनाउने बताए । सडक सञ्जालले तीनवटा वडामा कृषि, पर्यटन, जलविद्युत र धार्मिक गतिविधिलाई समेत सघाउने  र खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

सडक विस्तारमा तुँदी पावर र संयुक्त उर्जा कम्पनीको करिब १० करोड, गाउँपालिका ३ करोड ६२ लाख, संघीय स्थानीय साझेदारी कार्यक्रम ५० लाख र गण्डकी प्रदेश सरकारबाट १ करोड ५ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेटमध्ये स्थानीय साझेदारी कार्यक्रमको २१ लाख र प्रदेश सरकारको ३० लाख मात्रै खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

सडक उद्घाटन कार्यक्रमको अवसरमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, तुँदी पावर कम्पनीका म्याजेजर इन्द्रप्रसाद ढकाल, संयुक्त उर्जा प्रालिका डाइरेक्टर सुवास बराल, यूवा नेता ओम छन्त्याल, दर्मिजाका स्थानीय युवा सुविन शेरपुञ्जा लगायतले मन्तब्य राखेका थिए भने जनप्रतिनिधि, आमा समुह, स्थानीय अगुवाहरूको उपस्थिती रहेको थियो ।

गाउँमा सडक पुगेको खुसीयालीमा स्थानीयले पञ्चेबाजा सहित स्वागत समेत गरेका थिए । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेसँगै दुर्गम बस्तीका बासिन्दालाई राहतको महसुस गरेको रघुगंगा–८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए । सडक विस्तारसँगै बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडकबाट यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । उक्त सडक ५६ किलोमिटर लामो थियो भने अब बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करिब २८ किलोमिटरमै छोटिएको छ । घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब ३ घण्टामै पार गर्न सकिन्छ ।

Leave a Reply