सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ओली समुहमा लागेलगतै बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीलाई सरकारले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) उपलब्ध गराएको छ । पार्टी विभाजनपछि केही समय कुनै पक्षमा नलाग्ने भन्दै विचमा रहेको वताउने गरेका नगर प्रमुख नेपाली प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापालाई भेटेपछि ओली समुहमा खुलेका थिए । सोही भेटमा सहमती भए अनुसार गृहमन्त्रीको निर्देशनमा उनलाई पीएसओ उपलब्ध गराइएको हो । नगरप्रमुख नेपालीले आफुलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दैदिएको निवेदनका आधारमा गृह मन्त्रालयको आदेशमा ब्यक्तिगत सुरक्षा अधिकृत खटाइएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले गृह मन्त्रालयको निर्देशनमा नगरप्रमुख नेपालीलाई हवल्दार सरहको पीएसओ दिइएको बताए । ‘गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट मेयरलाई पीएसओ खटाउदिनू भन्ने निर्देशन थियो,’ उनले भने, ‘त्यहीअनुसार व्यवस्था गरिदिएका हौं ।’ कसैलाई पनि व्यक्तिगत रूपमा सुरक्षा थ्रेट भएको निवेदन परे सरकारले सुरक्षाकर्मी खटाउने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘अहिलेलाई तीन महिनासम्मका लागि भनिएको छ, त्यसपछि सुरक्षा थ्रेटको विषयलाई हेरेर थपघट गर्ने काम हुन्छ ।’
दुई वर्षअघि पनि ‘सुरक्षा थ्रेट’ भएको भन्दै नगरप्रमुख नेपालीले जिल्ला प्रशासनमा निवेदन दिएका थिए । तर त्यतिबेला गृह मन्त्रालयले चासो दिएको थिएन । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मेयरलाई पिसएओ दिने कार्यविधिमा नभए पनि सुरक्षा थ्रेटका आधारमा दिन सकिने बताए । ‘कुन विषयमा सुरक्षा थ्रेट हो भन्न मिल्दैन,’ उनले भने, ‘गृहमन्त्रीको निर्देशनमा हामीले व्यवस्था मिलाउन परिपत्र गरेका हौं ।’ मन्त्रालयका एक अधिकारीका अनुसार गृहमन्त्री रामबहादुर थापाको ठाडो निर्देशनमा नगरप्रमुख नेपालीलाई पीएसओ दिइएको हो ।
नगरप्रमुख नेपालीले आफूलाई सुरक्षा थ्रेट रहेकाले सरकारी मापदण्डअनुसार पीएसओ लिएको बताए । उनले भने, ‘मलाई सुरक्षा थ्रेट छ, दुई वर्षअघि नै निवेदन दिएको थिएँ तर सुनुवाइ भएन, अहिले गृहले त्यो व्यवस्था गरेको छ ।’
प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नगरप्रमुखलाई पहुँचका आधारमा पीएसओ दिइएको दाबी गरे । ‘हाम्रो नेपालमा पहुँचका आधारमा सेवासुविधा थपघट हुन्छ । कार्यविधिमा मेयरलाई पीएसओ दिने भनिएको हुँदैन तर सुरक्षा थ्रेट भन्दै दिइएको हो । यो लम्बिन सक्छ,’ उनले भने ।
शुरुमा नेकपा दुई समूहका विभिन्न कार्यक्रम हुँदा उनले पार्टी एकताको पक्षमा रहेको भन्दै छुट्टै भेला बोलाएका थिए । माघ ३ गते नगरप्रमुख नेपालीसहित बागलुङका केही नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका थिए । त्यसपछि उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि भेट गरे । त्यसको दुई दिनपछि उनी ओली समूहको जिल्ला भेलामा सहभागी भएका थिए । त्यसलगत्तै गृह मन्त्रालयले माघ ६ गते जिल्ला प्रशासन कार्यालयलाई हवल्दार सरहको पीएसओ खटाउन निर्देशन दिएको थियो । source.dhorpatannews.com

Leave a Reply