बेनी नगरपालिकाको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि उद्घोषण कलासम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकाससँगै क्षमता अभिवृद्ध गर्ने र उनीहरुमा उद्घोषण कलाको विकास गराउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले उद्घोषणकला पनि एउटा ज्ञान र सिप भएकाले तालिमका सहभागीहरुलाई सक्रिय सहभागितासहित उद्घोषणकला सिक्न सुझाव दिएका छन् ।

उनले बेनी नगरपालिकामार्फत विभिन्न खालका क्षमता विकाससम्बन्धी तालिमहरुको सञ्चालनमा जोड दिएको बताउँदै आगामी दिनमा पनि व्यक्तित्व तथा नेतृत्व विकासका कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।

नगर उपप्रमुख सन्जु बरुवालले आउँदै गरेको १११औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्याको अवसर पारेर तालिमको आयोजना गरिएको बताउँदै यसबाट महिलाहरुमा उद्घोषणकलाको विकास हुनुका साथै क्षमता अभिवृद्धि हुने अपेक्षा गरेकी छन् ।

तालिमको उद्घाटनसत्रमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, प्रवक्ता रामकृष्ण बराईली र ७ नम्बरका वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

तालिमको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पोडेलले सहजीकरण गरिरहेकी छन् । तालिममा बोल्ने कला, सिप, उद्घोषण, कार्यक्रम सञ्चालन, मन्तव्य राख्नेलगायत विभिन्न विषयहरुमा सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन भेरहेको छ ।

आगामी ३ दिनसम्म चल्ने तालिममा महिला उद्यमी, आमा समूह, सहकारी संस्था, लायन्स क्लब, जनप्रतिनिधि र कर्मचारीसहित ५० जना महिलाले सहभागिता जनाएका छन् ।

Leave a Reply