म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो व्यवसायी हितकोषबाट सदस्यलाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलस्थित बसपार्क क्षेत्रमा सञ्चालित सत्कार होटल एण्ड रेष्टुरेण्टका प्रोप्राइटर प्रेमप्रसाद गौचनलाई नगद हस्तान्तरण गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको साधारण सदस्य समेत रहेका प्रोप्राइटर गौचनको श्रीमतीको निधन भएकोमा संघले गौचन परिवारलाई सहयोग गरेको जनाएको छ ।

उनलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले नगद २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । दुःखमा परेका गौचनलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष कटुवालले संघमार्फत थोरै भए पनि परिवारलाई राहत मिलोस् भनेर सहयोग गरिएको बताए ।

यसअघि पनि दुःखमा परेका संघका सदस्य तथा आपत्विपद्मा परेका विभिन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको संघका अध्यक्ष कटुवालको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषको कार्यविधिअनुसार आर्थिक सहयोग गरिएको जनाइएको छ । २०७५ सालमा स्थापना भएको व्यवसायी हितकोषमा हाल ३५ लाख रुपैयाँ रकम रहेको छ ।

कोषको कार्यविधिअनुसार आफ्नै नाममा रहेको उद्योगी, व्यवसायीको मृत्यु भएमा ७५ हजार तथा परिवारका सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने व्यवस्था रहेको बताइएको छ । संघले कोषमा छुट भएका उद्योगी व्यवसायीहरुलाई पनि आबद्ध हुन समेत आग्रह गरेको छ ।

Leave a Reply