राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतिलाई तीव्र रुपमा अघि बढाउन म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बेनी–जोमसोम सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

शेरचनका अनुसार आगमी मंगलवारदेखि दैनिकरुपमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ्। उक्त समयमा सडक खण्डमा सवारी साधनहरु सञ्चालन रोक लगाइएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, अन्नपूर्ण गाउँपालिका–३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको निर्माणाधीन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको हो ।

मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी निर्माणाधीन सडकलाई गति दिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ ।

बेनी–जोमसोम सडक चार प्याकेजमा काम भइरहेको छ । निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण–३ र मुस्ताङको थासाङ–४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गे भीरमा सडक चौडा गर्नका लागि रक कटिङको काम भइररहेको छ।

यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए ।राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको काम २०७४ सालदेखिसुरु भएको हो। बेनी–जोमसोम चार खण्ड र जोमसोम–कोरला सात खण्डमा काम सुरु गरिएको हो ।

Leave a Reply