लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी सदरमुकाम बेनीमा शनिवार आयोजित जिल्ला स्तरीय दोहोरीगीतको संरक्षण र प्रर्र्वधन प्रतियोगिताको आयोजना गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान,बलबहादुर किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । विजेताले क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्धारा प्राप्त गर्नुभएको छ।

प्रतियोगितामा प्रथम हुन सफल हिरा किसान र पुरुषतर्फबाट उत्कृष्ट हुन सफल बलबहादुर परियारलाई प्रदेश स्तरीय दोहोरीगीत प्रतियोगितामा सहभागीताको लागि समेत छनौट गरिएको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा चार समूहमा ८ जनाले सहभागीता जनाएका थिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लोकदोहोरीको संरक्षणमा नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताउनुभयो ।

‘अग्रजलाई सम्मान गदैं संरक्षणका लागि नयाँ पुस्ताले नै अग्रसरता लिनुपर्छ,पुराना पुस्ताको कला, संस्कृति तथा गीत–संगीत संरक्षण गर्नुपर्छ’ अध्यक्ष कटुवालले भन्नुभयो । उहाँले अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहनको अभियानमा लाग्न समेत आयोजकलाई अनुरोध गर्नुभयो ।

‘कतिले जानेर त कतिले नजानेर यो क्षेत्रमा लाग्नुभएको छ,‘रहरले केही समय टिक्न सकिएला, ब्यवसायीक र मेहनत गर्न सक्नेहरु बषौं टिक्नुभएको छ’ प्रमुख अतिथि कटुवालले भन्नुभयो । कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व गण्डकी प्रदेश संयोजक तारापती सुवेदी, पूर्व प्रदेश कमिटी सदस्य अमित विश्वकर्माले म्याग्दी लोक संगितमा धनी जिल्ला भएकाले आफ्नो सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा  प्रथम उपाध्यक्ष धु्रव जिसीको स्वागत र सचिब पदम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसअगाडी कोरोना भाइरस जोखिम नियन्त्रणका लागि गतबर्षको चैतदेखि लोकसंगितका कार्यक्रमहरु सञ्चालन हुन नसकेको अवस्थामा सबै क्षेत्र नियमित भएपनि जिल्लामा साँस्कृतिक कार्यक्रम सञ्चालनका लागि अनुमति माग्दै जिल्ला प्रशासन कार्यालयमा समेत प्रतिष्ठानले ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply