म्याग्दीको होटल तथा रेष्टुरेन्टमा हुक्काको बढ्दो ब्यापारले स्कुले विद्यार्थी समेत कुलतमा फस्दै गएको भन्दै म्याग्दी प्रहरीले हुक्का बिक्री वितरणमा कडाई गर्ने भएको छ।

सदरमुकाम बेनीबजारमा हुक्काको लतमा फसेका स्कुले विद्यार्थी, किशोरकिशोरी विस्तारै गाँजाको सेवनमा समेत संलग्न भएको पाइएपछि प्रहरीले हुक्का विक्रीवितरणमा कडाई गर्न होटल ब्यवसायीलाई अनुरोध सहित निगरानी गर्न थालेको हो ।

हालै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले हुक्काको प्रयोगकर्तामा अधिकांस यूवापुस्ता भेटिएको बताउँदै कडाई नगरिए लागु औषधको कुलतमा समेत फस्न सक्ने जोखिम रहेको बताउनुभयो।

‘जहाँ हुक्काको ब्यापार हुन्छ,त्यहाँ धेरै यू्वापुस्ताको भिड देखियो,‘होटल ब्यवसायीसँग छलफल सुरु गरेका छौ’ प्रनाउ राईले भन्नुभयो ।

उहाँका अनुसार होटल तथा रेष्टुरेन्ट ब्यवसायीले समेत किशोरकिशोरीलाई हुक्का विक्री नगर्ने प्रतिबद्धता जनाएकाले अहिले निगरानी मात्रै गरिएको बताउनुभयो ।

‘नियमित हुक्का सेवन गर्नेहरु कुलतको पहिलो स्टेजमा हुन्छन्,‘रमाईलोका लागि भन्दै फस्नेको संख्या बढ्दै जान थालेको छ’ प्रनाउ राईले भन्नुभयो । सदरमुकाम बेनीबजारमा विद्यालयको पोशाकमै हुक्का तान्ने गरेको समेत फेला परेपछि प्रहरीले छलफलमा हुक्काको प्रयोगकर्ताका बारेमा गम्भीर हुन ब्यवसायीलाई अनुरोध गरेका थिए ।

हुक्कालाई कानुनले बर्जित नगरेपनि म्याग्दीमा गाँजाको प्रयोगकर्ताको संख्या बढ्दै जान थालेपछि धुम्रपानजन्य बस्तुको प्रयोगमा किशोरकिशोरीलाई निरुत्साहित गर्ने अभियानमा प्रहरीले सक्रियता देखाएको छ ।

चुरोटभन्दा १० गुणा हानिकार हुक्का हुन्छ । हुक्कालाई शिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले हुक्का चिनिन्छन् । स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा उपलब्ध हुक्कामा यूवाजस्तै यूवतीहरू पनि आर्क्षित हुनै गएका छन् ।

चुरोट बढिमा दुईजनाले सेयर गरी सेवन गर्न मिल्ने भएपनि हुक्का १० जनासम्मले सामुहकि रुपमा प्रयोग गर्ने गरिएकाले पनि यसले अन्य रोगहरु समेत निम्त्याउने बताए ।

हुक्कामा चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्वनओनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुने भएकाले पनि हुक्कालाई रोगको साथीको रुपमा समेत लिने गरिन्छ । बेनी र जिल्लाका ब्यापारिक केन्द्रमा रहेका होटलमा एक हजार भन्दा बढी हुक्काका पोड विक्री देखिन्छ। पछिल्लो एकबर्षयता ठूलो संख्यामा हुक्का विक्री हुने गरेको छ।

 

Leave a Reply