बेनी नगरपालिकाको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि सञ्चालित उद्घोषण कलासम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकाससँगै क्षमता अभिवृद्धि गर्ने र उनीहरुमा उद्घोषण कलाको विकास गराउने उद्देश्यसहित सञ्चालित तालिम सकिएको हो ।

तालिमको समापन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुमा लुकेर रहेको अन्तर्निहित क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् । उनले महिलाको व्यक्तित्व र नेतृत्वको विकास गर्न आयोजित तालिममा सिकेका ज्ञान तथा सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिँदै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिने बताएकी छन् ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्याको अवसर पारेर तालिमको आयोजना गरिएको उद्घोषण कलासम्बन्धी तालिमबाट आगामी दिनमा महिलाहरुमा क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तीन दिनसम्म चलेको तालिमको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पोडेलले सहजीकरण गरेकी थिइन् । उक्त तालिममा बोल्ने कला, सिप, उद्घोषण, कार्यक्रम सञ्चालन, मन्तव्य राख्नेलगायत विभिन्न विषयहरुमा सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । तालिममा महिला उद्यमी, आमा समूह, सहकारी संस्था, लायन्स क्लब, जनप्रतिनिधि र कर्मचारीसहित ५० जना महिलाले सहभागिता जनाएका थिए । गतवर्ष पनि महिलाहरुलाई उद्घोषण कलासम्बन्धी तालिम दिइएकोमा यसवर्ष पुनर्ताजगीका रुपमा तालिम चलाइएको आयोजकले जनाएको छ । नगर उपप्रमुख सन्जु बरुवालको अध्यक्षतामा सम्पन्न तालिममा महिला उद्यम विकास समितिका निवर्तमान सभापति सुनिता केसीले मन्तव्य राखेकी थिइन् भने नगरपालिकाको सहायक महिला विकास निरीक्षक तुलसी पाईजाले सञ्चालन गरेकी थिइन्। तालिममा सहभागी महिलाहरुले माइकमा बोल्ने कलाको अभ्यास गरेका थिए ।

Leave a Reply