महिलाहरुले अझै पनि पुरुष सरह अधिकार नपाएको १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । समानताको युगको चर्चा गर्ने गरिएपनि विभेदकारी सोचाइका कारण महिलालाई पुरुषले सरह समान अवसर प्राप्त गर्नबाट बन्चित बनाउने गरिएको महिला अधिकारकर्मीको गुनासो थियो ।

बेनी नगरपालिका–६, स्थित थाकनपोखरी आमा समुहले आयोजना गरेको कार्यक्रमकी प्रमुख अतिथि अन्तरपार्टी सञ्जाल म्याग्दीकी अध्यक्ष मुना बानियाँले समान अधिकार नपाएसम्म महिला आान्दोलन चलिरहने बताउनुभयो ।

उहाँले महिला पनि मुलुकको नेतृत्वका लागि सक्षम रहेको अवस्थामा समानताको आधारमा राज्यका हरेक निकायमा प्रतिनिधित्व नहुदाँसम्म महिलाको आान्दोलन पूरा नभएको दाबी गर्नुभयो ।

सोही अवसरमा अनेमासंघ म्याग्दीकी अध्यक्ष एवम् महिला अधिकारकर्मी ज्योती लामिछानेले महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेको समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक, सामाजिक र समाजका हरेक क्षेत्रमा महिलाको सक्रियताले नै प्रतिनिधित्वको आधार बनाउने बताउनुभयो । म्याग्दी जिल्लामा हरेक संघसंस्थाले महिलालाई प्रतिनिधित्वका लागि मात्रै राख्ने गरेको बताउँदै महिलाले नेतृत्व गरेका संघसंस्थाहरु सफल र समुदायमा फरक पहिचान समेत बनाएको लामिछानेको भनाई थियो ।

कार्यक्रमको अवसरमा महिला सम्बन्धि विभिन्न गीतहरु समेत प्रस्तुत गरिएको थियो । थाकनपोखरी आमा समुहकी अध्यक्ष होमकुमारी रेग्मीको अध्यक्षता, कमला रेग्मीको स्वागत र सचिव देवी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीमा विभिन्न संघसंस्थाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

Leave a Reply