नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले तीनबर्षसम्म पार्टी एकताको नाममा प्रचण्ड र केपी ओलीले जनतालाई भ्रम झरेको बताउनुभएको छ । एकता र सत्ताको लोभमा जनतालाई उल्लु बनाएर कम्यूनिष्टले जनमतको अपमान गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनुभएको छ ।

नेपाल शिक्षक संघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताउनुभयो ।

‘वर्तमान सरकार असफल भइसक्यो, अव पनि ओलीको नेतृत्वमा सरकारलाई निरन्तरता दिनु हुदैन’ गुरूङले भन्नुभयो । संबिधानको घाटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता नभएको समेत गुरूङको जिकिर थियो ।

नेपालमा कम्युनिष्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउदै नेता गुरुङले काँग्रेसमा पनि नेतृत्वको अघि पछि गरेर चाकडीले सिमा नाध्न थालेका भन्दै असन्तुष्टि जनाउनुभयो ।  प्रचण्ड र ओलीको बिवादले भोट हाल्ने जनताको समेत अपमान भएको उहाँको भनाई छ ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणी लामिछाने,नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवत्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, महिला संघका सभापति बिमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुबेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply