नारीलाई हेप्ने, आफूँभन्दा तल ठान्ने प्रवृतिको अन्त्यका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मालिका गाउँपालिकाले दरबाङ बजारमा गरेको कार्यक्रममा आर्थिक, सामाजिक, राजनैतिक रुपमा समाज र राज्यले गर्ने विभेद थपिदै गएपनि अव कमजोर ठान्ने र हेप्ने दिन गएकाले महिला मानवअधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष रेखाकौशल रेग्मीले बताउनुभयो ।

पूर्वीय दर्शनले नारी जातिलाई महाशक्तिको रुपमा मानेको भए पनि पुरुषको अन्डरमा रहनुपर्ने भनेकाले विरोधाभाष रहेको बताउँदै रेग्मीले महिलालाई अगाडि बढाउनका लागि नीतिगत रुपमै व्यवस्था रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मालिका गाउँपालिका, मिलन म्याग्दी, युएसआईडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम, महिला अधिकार मन्च म्याग्दी र शान्तिका लागि साझा अभियान (कोक्याप)को संयुक्त आयोजनामा भएको कार्यक्रममा महिला अधिकार मञ्च म्याग्दीका सल्लाहकार एवं अधिकारकर्मी जमुना आचार्यले अब केटीको घरमा केटा हेर्न जाने नभई केटाको घरमा केटी हेर्न जाने अभियानको थालनी गर्नुपर्नेमा जोड दिँदै यसले महिला हिंसा न्युनीकरण गर्ने बताउनुभयो ।

उहाँले पाँचवटा ‘स’ शरिर, स्वतन्त्रता, सम्पति, शक्ति र सत्तामा महिलाको पहुँच बढाउन सकेमा महिला सशक्तिकरण हुने बताउनुभएको थियो । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले महिलाको आर्थिक सशक्तिकरण गर्न पालिकामार्फत विभिन्न आयआर्जन र व्यवसायमूलक क्षेत्र तथा उत्पादनमा जोड दिइएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा बेलुन फुटाउने खेल प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा केबि एकेडेमी दरबाङका प्रिन्सिपल लक्ष्मी थापा, साहारा अर्गानिक डिभाइन ग्रुप दरबाङ शाखाका सञ्चालक शारदा चोखाल र न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ममसरा कार्कीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष बिटालुको अध्यक्षता, कार्यपालिका सदस्य गौमती चपाइँको स्वागत र न्यु दरबाङ महिला सहकारीका सचिव लक्ष्मी सापकोटा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रमहरु भैरहेका छन् । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था छ ।

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारीक मामिलामा दम्पतिको समान हकको व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको पाइन्छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुनहरु बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

Leave a Reply