१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कोभिड–१९ अस्थायी अस्पताल अन्नपूर्ण गाउँपालिकामा कार्यरत डाक्टर लक्ष्मी पन्थी सम्मानित हुनुभएको छ । नारी दिवसको अवसर पारेर उहाँलाई नारच्याङको सिर्जनशील आमा समूहद्वारा ‘प्रभावशाली महिला अवार्ड’बाट सम्मान गरिएको हो ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा न्युनीकरणसहित अन्नपूर्णमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर, तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ भन्ने तालिम सञ्चालन, संक्रमित तथा बिरामीको घरमै पुगेर भेटघाट, विद्यालय तहमा स्वास्थ्य शिक्षा जस्ता स्वास्थ्यका क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै डा. पन्थीलाई प्रभावशाली महिला अवार्डले सम्मान गरिएको सिर्जनशील आमा समूहले जनाएको छ ।

डा.पन्थीलाई आमा समूहका अध्यक्ष नरिमाया गुरुङले दोसल्ला ओढाई सम्मानपत्र, मायाको चिनो टोकन अफ लभ प्रदान गरी नगद १० हजार रुपैयाँसहित सम्मान गर्नुभयो । नारी दिवसको अवसरमा नारच्याङमा विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउनुका साथै कोभिड अस्पतालका डाक्टर लक्ष्मी पन्थीले पु¥याएको योगदानको कदरसहित उहाँलाई सम्मान गरिएको आमा समूहका अध्यक्ष गुरुङको भनाइ छ ।

सम्मान ग्रहण गर्दै डा. पन्थीले आफूलाई प्रभावशाली महिलाको अवार्डबाट सम्मान गरेकोमा आमा समूहलाई हृदयदेखि धन्यवाद प्रकट गर्नुभयो । साथै उहाँले दुर्गमका एक सामाजिक डाक्टर ‘प्रभावशाली महिला’ भनेर आमा समूहको तर्फबाट सम्मान पाउँदा आफूलाई धेरै गर्व लागेको बताउनुभयो ।

आगामी दिनमा पनि दुर्गम र ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउने गरी जनस्वास्थ्यका अभियानहरु सञ्चालन गर्ने बताउँदै डा. पन्थीले दुर्गम तथा विकट क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा आफूलाई निकै खुशी र आनन्द मिलेको अनुभव समेत सुनाउनुभयो । प्रभावशाली महिलाको अवार्डले आउँदा दिनमा आफूलाई थप जिम्मेवार तथा सशक्त बनाएकाले आफ्नो क्रियाशीलता अझ बढ्ने डा. पन्थीको भनाइ छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा कोभिड अस्पतालका स्टाफनर्स अन्जना पूर्जाले सौन्दर्य नाच, दाना स्वास्थ्यचौकीका इन्चार्ज रबिना दर्जी, आमा समूहका मनमाया र जमया विकले गीत प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा म्युजिकल चियर, बेलुन फुटाउने जस्ता खेलहरु पनि खेलाइएको थियो ।

कार्यक्रममा मिरिस्तीखोला जलविद्युत आयोजनाका रामकुमार खड्का, निलगिरी हाईड्रोका विशाल अर्याल, दाना स्वास्थ्यचौकी इन्चार्ज रबिना दर्जी, प्रभा माध्यमिक विद्यालयका विद्यार्थीद्वय ललिता पुन र गीता थजालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम आमा समूहका अध्यक्ष नरिमाया गुरुङको अध्यक्षता, उपाध्यक्ष जमाया विकको स्वागत र सदस्य प्रतिज्ञा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply