सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा एमाले म्याग्दीले पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा कायम गरिदिएपछि मंगलबार नेकपा एमाले म्याग्दीले बेनपा–२, हाँडेभिरमा रहेको पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो ।

मंगलबार नेकपा एमालेका नेता तथा कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी नेकपाको बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखिएको अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए । ‘पहिलो दिनै खुसीयाली मनाएका छौ,‘अब बल्ल पार्टी कार्यालयभित्रबाट काम गछौं’ विश्वकर्माले भने । उनका अनुसार पार्टी एकता अगाडीकै अवस्थामा नाम सहितको विवरण समेत राख्न सुरु गरिएको छ ।

पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ । नेकपा एमालले जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा समेत एमालेको बोर्ड राख्न निर्देशन दिइएको जनाइएको छ । संसद विघटनपछि विभाजित बनेको ओली र माधब–प्रचण्ड समुहले पार्टी कार्यालय प्रयोग गरेका थिएनन् ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी नेकपाका गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

Leave a Reply