म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्न थालेको छ । लामो समयसम्म कोरोनाको जोखिमले सुनसान बनेको मन्दिरमा टाढाटाढाबाट दर्शनका लागि भक्तजनहरू आउन थालेपछि गलेश्वरमा समेत चहलपहल बढ्न थालेको छ । गलेश्वर दर्शनका लागि समुह बनाएर आउँदा आर्थिक कारोबारमा समेत बढेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।
धार्मिक, आर्थिक र पर्यटकीय महत्वको रुपमा स्वदेश तथा विदेशमा रहेका हिन्दु धर्मालम्बीहरुमा समेत तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको अवस्थामा कोरोनाले करिब एकबर्ष मन्दिर बन्द भएपनि पछिल्लो समय एक रात बेनीबजार र गलेश्वरमा बसेर विहानै मन्दिरमा दर्जन गर्न आउनेको संख्या समेत बढेको उनले बताए ।
पछिल्लो एक सातायता भारतीय सिमा क्षेत्रबाट समेत भक्तजन मन्दिरमा दर्शन गर्न आएका छन् । पहिलोपटक दर्शन गर्न आएका भक्तजनले गलेश्वर मन्दिरलाई दोस्रो पशुपतिनाथको रुपमा चिन्न सकिने बताएका थिए ।
बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएकाले समेत भारतीय धार्मिक पर्यटक समेत आउने गरेका छन् ।
दक्षिण भारतबाट आउने भक्तजनले पौलस्त्य पुहलआश्रमका बारेमा समेत चासो देखाउने गरेका छन् । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा पुजाआजा गर्ने गरिन्छ ।
गलेश्वर मन्दिरको महत्व
बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।१९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको छ ।
त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । १९ औँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो ।
जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन्।
पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ । यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीयको माग रहेको छ ।