लागुपदार्थ दुर्ब्यसनीले जीवनमा गर्ने हानी नोक्सानी हुने भन्दै म्याग्दी प्रहरीले अभियान सञ्चालन गर्ने भएको छ । जानेर वा नजानेर युवा कुलतमा फसिरहेको अवस्थामा कुलतबाट जोगाउनको लागि दौडधुप चलिरहेको राईको भनाई छ । म्याग्दीमा चरेस र गाँजा बाहेक ब्राउन सुगर, अफिमजस्ता घातक लागुपदार्थ प्रयोग बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

कुलतमा लाग्न नदिनको लागि प्रहरी, प्रशासन बाहेक समाजका सबै सरोकारवाला निकाय सक्रिय भएर लाग्नुको विकल्प नरहेको समेत उनले बताए । पारिवारिक, सामाजिक आर्थिक हिसाबले कुलतमा पसेका युवालाई कसैले पनि अमानवीय व्यवहार नगरी उचित परामर्श दिनुपर्ने प्रनाउ राईको भनाई छ । प्रनाउ राईसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

म्याग्दीमा लागुपदार्थको प्रयोग र अवैध ओसारपसार बढ्दै छ, प्रहरीको भुमिका कस्तो छ ?
यस म्याग्दी जिल्लामा लागु पदार्थको प्रयोग र ओसार पसार बढ्दै छ भन्ने सन्दर्भमा लागु पदार्थको प्रयोग बढेको भन्ने कुरा कतिपय पछिल्लो घटनाक्रमहरुले पनि पुष्टी भएको देखिन्छ । गत माघ १ गते देखि यस जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा भूमिका निर्वाह गर्ने क्रममा बिशेष गरि कोभिड १९ को सेरोफेरोमा लक डाउनको अवधीमा त्यस्ता गतिबिधीमा बढोत्तरी भएको भन्ने समेत मुल्यांकनका आधारमा लागु औषधको संचय, सेवन र बेचबिखन आदि बिरुद्धको कार्यमा प्रहरीले आफ्नो सूचना संयन्त्रलाई अझ बढि प्रभावकारी बनाउंदै सरोकारवाला निकायहरुसंग थप समन्वय र सहकार्य गरी कार्य योजना बनाई शसक्त भुमिकाकासाथ अघि बढ्ने योजना रहेको छ ।

एकैपटक पश्चिम म्याग्दीबाट दुईजनालाई गाँजा सहित पक्राउ गर्नुभयो, अनुसन्धान कसरी अगाडी बढेको छ त ?
प्रहरीले हालै मात्र म्याग्दी जिल्लाको मालिका गाउं पालिकाबाट लागु औषध गांजाको अबैध कारोवारमा संलग्न २ वटा घटनामा २ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्राप्त सूचनाको आधारमा लागु औषध गांजाको संचय, भण्डारन तथा बिक्री बितरण आदि जस्ता अबेैध कार्य जिल्ला सदरमुकाम बाहिर समेत भैरहेको भन्ने सुचनाकै आधारमा पछिल्लो प्रहरी कारवाहीको क्रममा म्याग्दीको मालिका गाउं पालिका २ रुम भिमखर्कबाट फागुन १३ गते १२ केजि ८५० गा्रम र वडा नं.३ डांडाखर्क पात्लेबाट फागुन १७ गते बिभिन्न साईजका पोकाहरुमा २० केजी ९०० ग्राम प्रशोधित गांजा सहित पक्राउ पर्नुभएका २ जना व्यक्तिलाई कानुन बमोजिम म्याद थप गरि अनुसन्धान गर्ने क्रममा अन्य सहयोगी व्यक्ति, समूह तथा स्थान र सम्पर्क संजाल पत्ता लगाई त्यसलाई नियन्त्रणमा लिने तर्फ नै अनुसन्धान केन्द्रित छ ।

गाँजा बनाउने प्रशोधन केन्द्र नै गाउँमा भेटिएको छ, यसले त थप निगरानी बढाउनुपर्ने देखियो नी त ?
हो ठिक भन्नु भो, तपाईहरुले पत्रकार सम्मेलनमै देख्नु भयो, त्यहां देखिएका प्रशोधित गांजाका पोकाहरु, तराजु तथा बिभिन्न साईजका ढकहरु, प्याकेजिड०का सामाग्रीहरु, उक्त कार्यमा प्रयोग अन्य बिभिन्न सामाग्रीहरुबाट प्रष्ट हुन्छ की उक्त स्थान गांजालाई प्रशोधन गरी संचय, भण्डारण र ओसार पसार र बिक्रि बितरण गर्ने प्रमुख थलो हो ।

त्यसैले अन्य स्थानहरु समेतमा थप निगरानी बढाउन जरुरी छ । त्यसकालागि प्रहरीले आफ्नो सुचना संयन्त्रलाई थप प्रभावकारी रुपमा संचालन गर्न जरुरी देखिन्छ । लागु औषध बिरुद्धको यस महान अभियानमा प्रहरी एक्लैको मात्र प्रयास पर्याप्त नहुन सक्छ । त्यसैले यस कार्यमा सबैको सहयोग अपरिहार्य देखिन्छ ।

लागुऔषध प्रयोगकर्ता किशोरकिशोरीको संख्या सदरमुकाममा बढि छ, यसलाई नियन्त्रण गर्न कस्ता योजना बनाउनुभएको छ ?
हो ठिक हो, लागुऔषधको प्रयोगकर्ता किशोररकिशोरीहरुको संख्या सदरमुकामका बढि छ भन्ने सूचना बिभिन्न माध्यमबाट आएको छ । बढि जनसंख्याको चाप, बढ्दो चहलपहल, सदरमुकाम केन्द्रित आम गतिबिधी आदिका कारण त्यस्तो देखिन्छ। यसलाई नियन्त्रण गर्न प्रहरीले सर्वप्रथम बुत्तिमता संग्रहको कार्यलाई शसक्त र प्रभावकारी रुपमा अघि बढाएको छ।

यसै क्रममा प्रत्येक दिन समाजका कुनै एउटा बिधाका मानिसहरुसंग संवाद र अन्र्तरक्रिया गरि समस्याको पहिचान गर्दे लागुऔषधको नियन्त्रणकालागि जनचेतनामुलक कार्यक्रम, स्कूल सम्पर्क कार्यक्रम आदिलाई पहिलो चरणमा मावि संचालन गर्ने, प्रत्यक्ष सरोकार राख्ने बिद्यार्थी, आमा समूह, बिभिन्न क्लवहरु, संघसंस्था, सरकारी अन्य निकाय र आम नागरिक तहको साझा प्रयासलाई त्यस दिशामा केन्द्रित गरिने छ । किशोरकिशोरीको संख्या लागुऔषध प्रयोगकर्ताका रुपमा दिनानुदिन बढ्दो देखिएकोले त्यस कार्यमा जानीनजानी होटल रेष्टुरेष्टमा प्रयोग गर्ने हुक्काको बढि प्रभाव रहेको हुनसक्ने तर्फ समेत प्रहरी सचेत छ ।

अर्को तर्फ पछिल्लो दिनमा त्यस्ता किशोरकिशोरीहरुलाई प्रहरीले कार्यालयमा ल्याई काउन्सिलिड गर्ने, निजहरुको अबिभावक बोलाई जानकारी दिने, कुलतमा फंसेको अवस्था भए सुधार गृहका मानिसहरु समेत लाई बोलाई के कसरी असल नागरिकको रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान र प्रयास केन्द्रित छ ।

म्याग्दीको ग्रामिण क्षेत्रमा पाइने गाँजाबाट बन्ने चरेसको डिमान्ड जिल्ला बाहिर पनि छ भन्ने सुनिन्छ, प्रहरीले यसलाई कसरी लिएको छ ?
प्रहरीले गरेको पहिल्लो २ वटा कारवाहीबाट जिल्ला बाहिर पनि यसको नेटवर्क हुनसक्ने संकेत देखिन्छ । त्यस घटनामा प्रयोग गरिएको परिमाण, तरिका, शैली र कार्यबिधी हेर्दा त्यस्ता पदार्थ अन्य जिल्लाहरुमा पनि निकाशी पैठारी हुनसक्ने देखिन्छ । यस दिशामा अनुसन्धान केन्द्रित गर्दे अन्तर जिल्लामा समेत सुचना संयन्त्रको बिस्तार र बिकासगरी थप सहकार्यसंगै कार्ययोजनाको आधारमा अघि बढ्नु पर्ने देखिन्छ ।

प्रयोग भइसकेको सिरिन्ज सहित ब्राउनसुगर,नुर्फिन, डाइजापाम र फेनरागनको प्रयोगकर्ता समेत भेटिन्छन्, यस्तो डरलाग्दो समस्यालाई न्यूनिकरणमा क–कसलाई प्रमुख जिम्मेबारी सम्झिनुहुन्छ ?
यस्तो डरलाग्दो समस्याको न्यूनिकरणकालागि सर्वप्रथम सरोकारवाला राज्यका निकायहरु ध्यान सामुहिक रुपमा केन्द्रित हुनुपर्ने देखिन्छ । प्रहरीको एकल प्रयासले मात्र पुग्दैन । यसमा सरकारका ३ वटै निकाय, सरकारी तथा गैह्र सरकारी संघसंस्था, निजि क्षेत्र र आम नागरिक तह समेतको सामूहिक चासो र ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।

एउटा अभिभावकले आफ्नो छोराछोरी कुलतमा फसेको थाहा कसरी पाउने ?
हो यो महत्वपूर्ण प्रश्न राख्नु भो, प्रत्येक अबिभावकको चाहना आफ्नो सन्तती असल नागरिक बनुन भन्ने हुन्छ । त्यसकालागि अबिभावकले पनि आफ्नो चाहना अनुसार आफ्नो सन्ततीहरुको गतिबिधी, व्यवहार, आनिबानी, स्वभाव, दिनचर्या, दैनिकी, साथीसंगती, शारिरीक र मानसिक अवस्था बारे जानकार हुन आवश्यक रहन्छ ।

एउटा असल सामान्य नागरिकमा हुनुपर्ने भन्दा यी कुराहरुमा असामान्य रुपमा तात्विक भिन्नता र परिवर्तन हुदै गयो भन्ने ठान्नुस कि तपाईको छोराछोरीमा केहि समस्या छ । यी कुराहरु माथि ध्यान दिनु भयो भने तपाईले आफ्नो छोराछोरी कुलतमा फंसेको सहजै अनुमान लगाई के कस्तो कुलतमा फंसेको हो भन्ने कुरा पत्ता समेत लगाउन सक्नु हुनेछ ।

Leave a Reply