म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्री पर्वको अवसरमा बिहिबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मुल मन्दिरसम्म पुग्न आवश्यक पर्ने सबै तयारी पुरा भएको क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बेनीअनलाइनलाई बताए । ‘भक्तजनलाई स्वागत गर्न आतुर छौ, आवश्यक सबै तयारी पुरा भएको छ’ केसीले भने ।

उनका अनुसार गतबर्ष कोरोनाका कारण लामो समयसम्म मन्दिरमा भक्तजनको सहज आवतजावत हुन नपाएको अवस्थामा यसबर्ष भक्तजनको चाप बढ्ने अनुमान सहित ब्यवस्थापन गरिएको छ ।

उनले प्रहरी, गलेश्वरका आमा समुह विभिन्न संघसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा, पुजाआजालाई ब्यवस्थित लगाएत आवश्यक तयारी समेत गरिएको छ ।

ब्यक्तिगत तथा सार्वजनिक सवारीका साधानमा आउने भक्तजनहरुले गलेश्वरको प्रवेशद्धारमै पार्किङ गरी पदैलयात्रा गर्नुपर्ने छ । पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक समेत उपस्थिति हुनेछन् । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।

भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिने छ । मन्दिरको दोस्रोगेटबाट गणेशको पुजाआजा, शिवलिङ्ग, मुख्य मन्दिर सहित आसपासमा रहेका सहायक मन्दिरहरुमा पुजाआजा गरेलगत्तै बाहिर निस्कन समेत सहज ब्यवस्थापन गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।

उनले शिवरात्रीमा जिल्लाभित्रका साथै पर्वत, बागलुङ्ग लगाएत देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु आउने भएकाले सहज पुजाआजाको ब्यवस्थापनलाई आवश्यकता अनुसार स्थलगत रुपमै समेत नियमन गर्ने टोली समेत परिचालन गरिने बताए।

उनले मन्दिरको बाहिरी तथा मुख्य मन्दिरमा समेत एउटै भक्तजनले लामो समयसम्म पुजामा ब्यस्त हुनसक्ने भएकाले त्यहाँभित्र समेत स्वयमसेवकमार्फत ब्यवस्थापन गरिने बताए । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको छ । भक्तजनलाई कुनै पनि समस्या आइपर्न सक्ने सम्भावनलाई मध्यनगर गरेर स्वयमसेवक परिचालन गरिने समेत कोषले जनाएको छ ।

पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । हरेकबर्ष शिवरात्रीमा करिव २० हजार भक्तजनहरुले गलेश्वरको दर्शन गर्ने गर्दछन् ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्व सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय मन्दिरमा समेत पुजाआजा गरिन्छ ।

 

Leave a Reply