म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनहरुलाई शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन अनुरोध गरेको छ।

महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनहरुलाई विगतमा भक्तजनको गरगहाना चोरी भएकाले गरगहाना नलगाई आउन सार्वजनिक अपिल गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बेनीअनलाइनलाई बताए ।

‘गरगहनाले भक्तजन नै असुरक्षित हुनुहुन्छ,‘भिडभाडमा हराएपनि भेटाउन मुस्किल हुन्छ’ बानियाँले भने । यसपटक भक्तजनको चाप समेत बढ्ने अनुमान गरिएकाले गरगहना र पूजाआजामा आवश्यक पर्ने बाहेकका साम्रागी नल्याउन र अनिवार्य मास्क लगाउनु पर्ने कोषले जनाएको छ ।

दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी बाहेक स्वयंमसेवक समेत खटाइने भएकाले भक्तजनलाई समेत पूजाआजामा भिडभाड नगरी सहज लाइनमा बसेर दर्शन गर्ने ब्यवस्था मिलाइएको कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए। ‘गरगहनाको सट्टा मास्क लगाएर आउनुहोस्,‘मन्दिरमा आउने भक्तजनले सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गरेर सघाउनुहोस्’ अध्यक्ष कार्कीले भने ।

भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउनुपर्ने र भौतिक दूरी सकेसम्म कायम गर्ने गरी लाइनको व्यवस्था गरिएको छ । बेनीबजार आसपासमा क्षेत्रमा नक्कली गरगहनाले सक्कली साट्ने गरेको घटनालाई मध्यनजर गरी भक्तजनलाई सतर्कता अपनाउन अनुरोध गरिएको कोषले जनाएको छ ।

विगतमा मन्दिर भित्रबाट लाइनमै बसेका भक्तजनको गरगहना लुटिएको थियो । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा पुजाआजा गर्ने गरिन्छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ ।

शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ । भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् ।

 

 

 

Leave a Reply