भारतीय सेनामा छनौटका लागि गएका म्याग्दीका एक यूवाको मृत्यु भएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–२ साझापानी घर भएका २० बर्षिय अविनाश भण्डारी ४ महिना लामो छनोट प्रक्रियाबाट अन्तिममा छनौट भएपनि अचानम बिरामी भएपछि उपचारको क्रममा भरतपुरको अस्पतालमा मृत्यु भएको हो ।

भण्डारी छनौट प्रक्रियाको दौडमा उत्कृष्ट पाँचभित्र परेका थिए । नेपाल र भारतको सिमाना सुनौली (नौतुना) मा फागुन २३ गते बिरामी भएका भण्डारीको भरतपुरमा उपचारको क्रममा २५ गते अचेत भएका थिए । मृतक भण्डारीको बुधबार अन्त्येष्टी गरिएको छ ।

कुशल भलिबल खेलाडी समेत रहेका भण्डारीले गाउँपालिकास्तरीय राष्ट्रपति कप सहित जिल्लास्तरीय खेलमा समेत उत्कृष्ट खेल खेलेका थिए। भलिबल खेलसँगै गाउँका सहयोगी यूवाको रुपमा समेत चिनिन्थे । भलिबल खेलमा सम्भावना भएको यूवा गुमाएको म्याग्दीका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

उनले पालिकास्तरीयसँगै भलिबल खेलमा समेत राम्रो गर्न सक्ने सम्भावना रहेको यूवालाई गुमाउनुपरेको बताए । भारती सेनामा भर्नाको लागि आवेदन दिएपछि उनी नियमित अभ्यास सहित भर्ना भएरै घर फर्किने बाचा गरेर गएको आफन्त मन्जु भण्डारीले बताईन् ।

‘भाईले सपना पुरा गरेपनि हामीसँग खुसी साट्ने धोको अधुरै भयो,‘राम्रो मान्छे भगवानको रोजाईमा हुदाँ रहेछन’ उनले भनिन् । शारीरिक रुपमा स्वास्थ्य, उचाई, तौल सहित अन्य प्रतिस्पर्धामा भण्डारीले उत्कृष्ट भएको आफन्तलाई बताउँदै आएका थिए । आर्कषक तलब, गाउँ घरमा सम्मानका कारण म्याग्दीका युवा भारतीय सेनामा आकर्षित हुने गर्छन्।

Leave a Reply