महाशिवरात्रि पर्वका अवसरमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम मन्दिरमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । कोरोनाको जोखिमले करिब एकबर्षसम्म सुनसान रहेको मन्दिरमा भक्तनहरूको घुइँचो लागेको छ ।

जिल्लाभित्रका साथै पर्वत, बागलुङ्ग लगाएत देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार विहानको तुलनामा दिउँसो भक्तजनको भिड देखिएको छ । मन्दिरको बाहिरी तथा मुख्य मन्दिरसम्म लाइनमा बसेर पूजाआजा गर्ने ब्यवस्था मिलाइएको छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय सहित जिल्लाभरका मन्दिरमा समेत भक्तजनको भिड लागेको छ। कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्क अनिवार्य गरिएको छ ।

प्रहरीले प्रवेशद्धारमै मास्क सहित आवश्यक सतर्कताका लागि अनुरोध गरेको छ । गलेश्वर बजारभित्र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ भने मन्दिरको माथिल्लो क्षेत्रमा समेत सडक विस्तारको काम भइरहेकाले शसस्त्र प्रहरी गरी वरपरका क्षेत्रसम्म सवारी साधन र सर्वसाधारणलाई बस्न कडाइ गरिएको छ ।

 

Leave a Reply