एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । गण्डकी प्रदेश सरकारको समन्वय एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले आयोजना गरेको स्त्री रोगसम्बन्धी शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री पुनले भनिन्, ‘आमा बचाउनका लागि हामीले कार्यक्रम गर्नुपर्छ, किनभने आमा नहुँदा घर परिवार भताभुङ्ग हुन्छन्, बालबालिका टुहुरा हुन्छन् । त्यसैले हाम्रो सानो प्रयासले एकजना आमालाई जोगाउँदै गर्दा सिङ्गो परिवार जोगिन्छ । हुन त क्यान्सर लागेका बिरामीलाई राज्यले एकलाख दिन्छ तर पनि क्यान्सर लागेर मृत्यु हुनुभन्दा पनि स्वस्थ रहन आवश्यक रहेको मन्त्री पुनले बताइन् ।

महिलाहरुले आफूलाई परेका समस्याका बारेमा भन्नका लागि लाज लाग्ने भन्ने डरकै कारण पाठेघर तथा पाठेघरको मुखको क्यान्सर हुँदा आर्थिक अनि पारिवारीक पनि समस्या हुने भएकाले सुरुमै उपचार र त्यसको निदानका लागि प्रयास गर्नुपर्ने मन्त्री पुनको घारणा थियो । बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले नेपालमा पाठेघरमा मुखको क्यान्सर निकै ठूलो समस्याको रुपमा रहेकोले यस्ता शिविरहरुले त्यसलाई कम गर्दै लैजाने बताए ।

बेनी अस्पताल परिसरमा आयोजित शिविरमा म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र जिफन्टका केन्द्रीय सदस्य बलादेवी राईले मन्तव्य राखेका थिए ।कुल २ सय ६५ जनाले पाठेघरमा मुखको क्यान्सरको परीक्षण गराएको निःशुल्क शिविरमा ८ जनाले थप उपचार गर्नुपर्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

Leave a Reply