महाशिवरात्रीको अवसर पारेर म्याग्दीका एक ८१ वर्षिय साहित्यकारका दुई वटा कृति एकैदिन विमोचन गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भवेन्द्रविक्रम शाहले लेख्नुभएको ‘मेरो वंश परिचय र आत्मकथा’ तथा ‘संक्षिप्त केही पौराणिक नाटक’ पुस्तकको बगरफाँट स्थिति शिवालय मन्दिरमा जेष्ठनागरिकद्धय ८५ वर्षि खड्गवहादुर थापा र ८४ वर्षिय विष्णुवम मल्लले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

लेखक शाहका तीनभाइ छोराहरु चिरञ्जीवी शाह,जीवन प्रदीप शाह र सुधिर शाह प्रकाशक रहेको १९९ पृष्ठको ‘मेरो वंश परिचय र आत्मकथा’ नामक पुस्तकमा शाह वंशको परिचयका साथै लेखक शाहले आफ्नो जीवनमा भोगेका,देखेका र अनुभूति गरेका सामाजिक,राजनीतिक,आर्थिक,सांस्कृतिक र साहित्यिक विषयहरुमा अति रोचक र सरल रुपमा व्याख्या गर्नुभएको छ । पुस्तकमा ५० वटा शीर्षकका विभिन्न पाठहरु समेटिएका छन् ।

त्यसैगरी छोरी सुधा शाह खाँड प्रकाशक रहनुभएको ‘संक्षिप्त पौराणिक नाटक’ नामक पुस्तकमा पाँचवटा पौराणिक नाटकहरु संग्रहित छन् । पौराणिक कथालाई विषयवस्तु बनाएर वर्तमान समयको विम्व उतारिएका ती नाटकहरुमा सामाजिक न्याय र नैतिक मूल्य मान्यताहरुलाई प्राथमिकतामा राखिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै पत्रकार धु्रबसागर शर्माले साहित्यकार शाह यस क्षेत्रका जीउँदो इतिहाँस भएकोले उहाँका अनुभव र विचारहरुले नयाँपुस्तालाई ऊर्जा र प्रेरणा दिने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीले साहित्यकार शाहबाट समाजले धेरै कुरा सिक्नु पर्ने बताउँदै ८१ वर्षको बुढ्यौली उमेरमा पनि यति गहकिला कृतिहरु दिएर शाहले ठूलो गुण लगाउनुभएको बताउनुभयो । कार्यक्रममा शिवालय मन्दिरमा आएका भक्तजन,स्थानीय बुद्धिजीवि र शाहका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply