खेमराज गौतम/बागलुङ मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम मात्रै होइन, दाम कमाउन पनि कठीन छैन । जीवनमा कलाले रंग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका–२ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने जो जीवन मात्रै बाँचिरहेका छैनन्, उनका सुन्दर कलाहरुमा कालान्तर सम्म जीवन्त बाँचिरहनेछन् । चित्रकला र मूर्तिकलामा अब्बल लामिछाने कलामा व्यावसायिकता समेत अँगाल्ने कम पात्र मध्येमा पर्नुहुन्छ ।

ढुंगाको आकर्षक मूर्ति र शिलालेख लेखनमा साविक पश्चिमाञ्चल क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उहाँले तयार गरेको मूर्ति नपुगेको नेपालका कमै स्थान भएको बताउनुहुन्छ । उहाँ मात्रै हैन, लामिछानेका सहोदर दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय हुनुहुन्छ । सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त हुनुहुन्थ्यो । उहाँ अहिले ४६ वर्षको हुनुभयो । पुख्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो ।

त्यही गाउँबाट एसएलसी उत्तिर्ण गर्नुभएका लामिछाने अहिले धौलागिरीमा सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । बागलुङ नगरपालिका २ श्रीनगर टोल, क्याम्पसरोडमा बस्दै र व्यवसाय गर्दै आउनुभएका लामिछाने दाजुभाई मूर्तिकला र शिलालेखको काममा सदैव भ्याई नभ्याई हुन्छ । अहिले आफूलाई सफल व्यवसायी मात्रै होइन, आफ्नो अन्र्तनिहित क्षमता चित्रकलालाई मूर्तिकला सम्म जीवन्त तुल्याउन सकेकोमा खुसी हुनुहुन्छ । व्यवसायीको मात्रै हैन, पुख्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा धौलागिरी अञ्चलमानै चित्रकलामा प्रथम भएको बताउँनुहुन्छ ।

उहाँ विद्यालयमा अध्ययनरत छँदा धेरै स्थानमा आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम भएको बताउँनु हुन्छ । “सानै उमेरबाट चित्रकलामा बढी जोड थियो, धेरै पटक चित्रकला प्रतियोगितामा भाग लिए, अधिकांशमा प्रथम भए, विद्यालयका गुरुहरुले समेत चित्रकलाबाट आफूहरु प्रभावित बनेको बताउनु हुन्थ्यो” लामिछानेले भन्नुभयो “कुनै बेला यसलाई व्यावसायिक बनिएला भन्ने लागेकै थिएन, धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतका कारण यसलाई निरन्तरता दिन सकेको छु, नयाँ र फरक पेशा भए पनि प्यासनका साथ लागे सफल हुन्छ भन्ने उदाहरण पनि हो ।”

No description available.

अहिले लामिछानेका चारै भाइ मूर्तिकलामा हुनुमा पनि जेठा सुवासचन्द्रकै मुख्य हात छ । अहिले सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्वल आर्ट सञ्चालनमा ल्याउनुभएको छ भने लेखनाथ लामिछानेको श्रीनगर टोलमै अर्को मुर्ति उद्योग सञ्चालनमा छ । यस्तै, अर्का भाई विपिन लामिछानेले म्याग्दीमा मूर्ति उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।

“कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुङ्गामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो” लामिछानेले स्मरण गर्दै भन्नुभयो “२०४६ साल साउन १३ गतेदेखि ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न थालेको हँु, अहिले विद्युतीय औजारले केही सहजता बनाएको छ ।”

No description available.

तर,त्यतिबेला पनि लामिछानेले मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उहाँले शुरुमा मूर्तिकलालाई व्यावसायिक बनाउने गण्डकी प्रदेशमै आफू पहिलो भएको समेत बताउनुहुन्छ । उहाँले २०५२ सालबाट व्यावसायिक रुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गर्नुभएको हो । एसएलसी पास गरे पछि व्यावसायिक बन्नुभएका लामिछाने पहिलो पटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गर्नुभएको थियो ।

उहाँले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५ सयका दरले बिक्री गर्नुभएको थियो । उहाँले हिन्दु धर्मका धेरै भगवानहरुको मूर्ति कुद्न सक्नुहुन्छ । सँगै बौद्धको मूर्ति समेत बनाउँदै आउनुभएका लामिछानेले मुर्तिको माग धान्नै धौ–धौ भएको बताउनुभयो । धौलागिरीका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आउनुभएको छ भने पोखरा, काठमाण्डौं, चितवन लगायतका स्थानबाट मूर्तिको माग भइरहेको उहाँको भनाई छ ।

देश धर्म निरपेक्षतामा गइसके पछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तिब्रता दिइएको उहाँको भनाई छ । “पहिला हाम्रो धर्म संस्कृति हिन्दु हो भन्ने थियो तर अहिले नयाँ बाहिरी धर्म संस्कृति भित्रिए पछि झनै हिन्दुका मूर्तिहरुको माग बढिरहेको, धर्म संस्कृति प्रति चासो देखिएको मैले महुशुस गरेको छु,” उहाँले भन्नुभयो, “मठ मन्दिर बनाउने शिला लेख्ने कार्य निकै बढेको र आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने परम्परा समेत बढेको छ ।”

No description available.

आफूलाई धेरैले भगवान बनाउने मान्छे भन्ने गरेको उहाँको भनाई छ । आफूले केबल ढुंगामा कला भरेको तर त्यस्तो मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ । “भगवान ढुङ्गामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुङ्गालाई पुज्ने गरेका छन्,” लामिछानेले भन्नुभयो “ढुङ्गा आफैमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला, मैले ढुङ्गा देख्दा साथ भगवान सम्झन्छु त्यही भगवान ढुङ्गा कुँदेर निकाल्छु, ढुङ्गामा भगवानको बाँस हुन्छ, कालीगड एउटा माध्यम मात्रै हो, मैले ढुङ्गा भित्रको भगवानलाई आकार मात्रै दिएको हो ।”

युवाहरु नेपालमा सम्भावना नभएको भन्दै विदेश गएको प्रति अचम्म मान्दै उहाँले फरक र नयाँ सोचका साथ पेशा व्यवसाय गर्न सके व्यावसायिक रुपमा सफल हुन सक्ने बताउनुभयो । लामिछानेले आफूले प्रत्येक ढुङ्गामा लाख–लाख देख्ने गरेको रोचक अनुभव समेत सुनाउनुभयो ।

No description available.

उहाँले भगवान बनाउन नसक्ने भगवानको स्वरुपलार्ई बाहिर ल्याउने प्रयास गर्नुनै मूर्तिकारको मुख्य काम भएको बताउनुभयो । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो अहिले कालिगडले शिलालाई आकारमा मात्रै ढालेको उहाँको तर्क छ । मूर्ति उद्योगमा प्रायशः शिवलिङ्ग, शिव भगवान, विष्णु, नाग देवता, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उहाँले बताउनुभयो ।

मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको लामिछाने बताउनुहुन्छ । “मूर्तिकला मेहेनत धेरै लाग्ने काम हो, यो व्यवसायी मात्रै नभएर एउटा कलाकारिता पनि हो” उहाँले भन्नुभयो, “पहिला महिनौ लाग्ने मूर्तिलाई अहिले एक हप्तामै तयार गर्न सकिन्छ, यसमा विद्युतिय औजारको सहयोग ठूलो छ ।” २०६० सालदेखि विद्युतिय औजारको प्रयोग गर्दै आएको उल्लेख गर्दै उहाँले २०६० सालबाटै शिला लेख्ने कार्यको शुरुवात गरेको बताउनुभयो ।

No description available.

ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताउनुभयो । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिने गरेको उहाँको भनाई छ । एउटै ढुङ्गालाई उद्योग सम्म ल्याउन ५० हजार देखि एक लाख समेत खर्च हुने गरेको उहाँले बताउनुभयो ।

कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसावले सोच, सोध र खोज गर्न सके युवाहरु विदेश पलायन हुन नपर्ने सुवासका कान्छा भाइ मूर्तिकार सुदिप लामिछानेले बताउनुहुन्छ । उहाँले दाइको मेहेनत र लगाव देखेर आफू पनि मूर्तिकलामा अग्रसर भएको बताउनुभयो । २२ वर्षिय सुदिप ल्याव टेक्निसियन अध्ययन गर्दा गर्दै दाइहरुको कर्म देखेर मूर्तिकलामा लागेको बताउनुहुन्छ । अबका दिनमा पनि आफू मूर्तिकलामै लागिरहने उहाको संकल्प छ ।

यसरी २८ वर्र्षदेखि चित्रकलालाई मूर्तिकलामा रुपान्तरण गर्नुभएका सुवासचन्द्र लामिछाने आफू उक्त व्यवसायबाट निकै सन्तुष्ट बनेको बताउनुभयो । उहाँले मूर्तिकला व्यवसायबाटै केही सम्पति जोडेको बताउनुभयो । “यो धूलो मैलोमा खेल्ने पेशा हो, कतिले आफैलाई आएर साहु जी खोई भन्दा अचम्म लाग्छ” उहाँले पृथक स्मरणीय घटना सुनाउँदै भन्नुभयो, “अहिले कूर्चीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदार समेत पाउन सकेको छैन ।” व्यावसायिक ढंगले सोच्न सके पैसा नेपालमै भएको र युवाहरुलाई स्वदेशमै नयाँ ढंगले पेशा व्यवसाय अघि बढाउन आग्रह गर्नुहुन्छ । Source: aadarshasanchar.com

Leave a Reply