बेनी अस्पतालमा बिरामीको बेड नजिकै अक्सिजन पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेड मै अक्सिजन पुग्छ । बिरामीलाई आवश्यकता परेको बेलामा पाइपबाट आइरहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ ।

गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालबाट कुल १ करोड २० लाखको लागतमा जडान गरिएको उक्त प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरिएपछि अस्पतालमा सिलिण्डर खोज्ने समस्याको अन्त्य भएको छ । अस्पताल भित्रका ३० बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ती गर्ने गरिएको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा सिलिन्डर बोकेर बेडमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘केही संरचना र उपकरण अझै थप्ने तयारीमा छौ’अध्यक्ष कटुवालले भने । उनका अनुसार विगतमा अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा लैजानुपर्ने बाध्यता थियो ।

प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ८५ लाख, सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख रूपैयाँ, बेनी अस्पतालले उपकरण तथा भवनमा १० लाख रुपैयाँ खर्च गरिएको छ।

अक्सिजनको अत्यधिक खपत हुने आइसियू, इर्मेजेन्सी, नियमित बिरामीलाई भर्ना हुने बेडहरूमा सहज सेवा प्रदान भएपछि बिरामी समेत उत्साहित भएका छन् । अक्सिजन उत्पादन केन्द्रको बिहिबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गदैं प्रदेशभित्रका सरकारी अस्पतालमा आधुनिक उपकरण र प्रयाप्त जनशक्तीको ब्यवस्था गरिने बताईन् ।

‘जटिल रोगको उपचारलाई जिल्लामै सम्भव हुने गरी पूर्वाधार विस्तार गछौं,‘दुईबर्ष यता अस्पतालमा धेरै परिवर्तन भएको छ’ मन्त्री पुनले भनिन् । पाइपलाइनसँगै ठूला–साना अक्सिजनको सिलिण्डर समेत प्रयाप्त श्वासप्रश्वास, आइसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए ।‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीलाई पनि सहज हुन्छ,‘खर्च र समयको बचत भएको छ’ प्रमुख डा. कँडेलले भने । प्लान्टबाट उत्पादित अक्सिजनमा शुद्धता प्राप्त हुने उनको भनाई छ । हावालाई प्रशोधन गरेर अक्सिजनलाई चारवटा सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । मेसिनसँगै सिधै बेडमा जान आवश्यक पर्ने १२ ठूलो सिलिन्डर र आकस्मिक प्रयोगका लागि २ वटा र १० वटा मौज्जातमा रहेको अस्पतालले जनाएको छ ।

विगतमा अक्सिजनको अभावले धेरै बिरामीलाई हेलिकप्टर र सवारीसाधनको प्रयोग गरी पोखरासम्म लैजानुपर्ने बाध्यता रहेको थियो । विसं २०७२ मा ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा मिर्गौलाका बिरामीका लागि नियमित डायलासिस सेवा, भेन्टिलेटिर सहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, शवराख्ने मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन लगायतका संरचना थप गरिएको छ ।

 

Leave a Reply