नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ सहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तको समेत उपस्थितिमा कालिगण्डकी नदीमा स्वर्गीय खड्काको अस्तु सेलाइएको हो ।

बेनी नगरपालिका-८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा मंगलवार विहान निधन भएको थियो । खड्काको मंगलबार नै काठमाडौं स्थित पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । अकस्मात बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौ लगिएको थियो।

खड्कालाई मुटु सम्बन्धी समस्या थियो। यसैबीच स्वर्गीय खड्काको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउदै कार्यालय बन्द गरिएको थियो भने आगामी आइतबार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा बेनीमा श्रद्धाञ्जलिसभाको आयोजनाको कार्यक्रम तय गरिएको छ । स्पष्ट बक्ता, अध्ययनशिल र सरल स्वभावका खड्का स्वाभीमानी र निष्ठावान नेताको रुपमा म्याग्दीमा चिनिन्छन्।

 

Leave a Reply