म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर लक्ष्मी पन्थी ‘सशक्त नारी सम्मान’बाट पुरस्कृत हुनुभएको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा उहाँलाई बुधबार मेन्टर एण्ड मस्कट इण्डियन फिल्म फेडेरेशन (एमएमआईएफएफ)ले भारतको राजधानी नयाँदिल्लीमा सम्मान गरेको हो ।

कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. पन्थीलाई सामाजिक डाक्टरको रुपमा छनोट गरी सम्मान गरिएको एमएमआईएफएफले जनाएको छ । ‘यु क्यान सेभ फाइप लाइभ्स अर्थात् तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ भन्ने अभियानमार्फत मानव सेवा गरेकोमा उहाँलाई सम्मान गरिएको हो ।

अभियानबाट दुर्गम तथा विकट क्षेत्रका सर्वसाधारण नागरिकहरुको स्वास्थ्य सुधारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अन्तर्राष्ट्रिय नारी दिवस–२०२१ को अवसरमा सशक्त नारी सम्मानबाट सम्मान गरिएको डा. पन्थीले बताउनुभयो ।

डा. पन्थीले पुरस्कारदाताहरुबीच पुरस्कार पाउने अवसर दोस्रोपटक भएको बताउँदै पुरस्कारसहित आफ्नो सामाजिक कार्यका लागि ठूलो सम्मान देखाउनुभएकोमा सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभएको छ ।

उहाँले सम्मानबाट समाज सेवाप्रतिको भावनालाई जीवित राख्ने भन्दै आगामी दिनमा थप सेवाहरु दिन प्रोत्साहन मिलेको अनुभव सुनाउनुभयो । आफू पुरस्कृत हुन पाएकोमा गौरवान्वित भएको बताउँदै डा. पन्थीले आफूलाई भविष्यमा थप जिम्मेवार र सशक्त बनाउँदै लैजाने पनि बताउनुभएको छ ।

डा.पन्थीले ग्रामीण भेगका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जनचेतनामूलक कार्यक्रमहरु गर्दै आउनुभएको छ भने दुर्गममै बसेर बिरामीको उपचार गरिरहनुभएको छ ।

उहाँले कोभिड–१९ संक्रमणको रोकथाम तथा न्युनीकरणसहित अन्नपूर्णमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविर, तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ अभियान सञ्चालन, संक्रमित तथा बिरामीको घर भेटघाट र उपचार, विद्यालय तहमा स्वास्थ्य शिक्षा जस्ता जनस्वास्थ्यका अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।

Leave a Reply