गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा म्याग्दीको बेनी अस्पतालमै निःशुल्क मृगौलाको डायलाइसीस सेवाले बिरामीलाई सहज भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा गएको साउन महिनादेखि म्याग्दीमा मृगौला डायलाइसीस सेवा सञ्चालनपछि सर्वसाधारण लाभान्वित भएका हुन् । सामाजिक विकास मन्त्रालयको पहलमा प्रदेश सरकारको सहयोगबाट म्याग्दीको बेनी अस्पतालमा निःशुल्क मृगौलाको डायलाइसीस गर्ने सेवाबाट मृगौलापीडित बिरामीलाई राहत मिलेको छ ।

जिल्लामै मृगौला डायलाइसीसको उपचार सेवा पाउँदा गाउँमै रोग लुकाएर बस्न बाध्य बिरामी तथा जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले चारवटा डायलाइसीस मेसिन उपलब्ध गराएको छ भने प्रवासी म्याग्देलीहरुले पनि मृगौला डायलाइसीस गर्न दुईवटा मेसिन सहयोग गरेका छन् ।

अहिले मृगौला डायलाइसीसका लागि चारवटा मेसिन सञ्चालन गरिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र अस्पतालको समितिमार्फत झण्डै एक करोड रुपैयाँको लागतमा जिल्लामै निःशुल्क डायलाइसीस सेवा सञ्चालन गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

म्याग्दी जिल्लाका अधिकांश नागरिकहरुमा मृगौलाको समस्या देखिएपछि सामाजिक विकास मन्त्रालयको पहलमा जिल्लामै मृगौला डायलाइसीस सेवाको सुरुवात गरिएको जनाइएको छ । अहिले बेनी अस्पतालमा ९ जनाले मृगौला डायलाइसीसको नियमित सेवा लिइरहेका छन्भने ५० जना बिरामीहरु सेवा लिन पालो पर्खिरहेका छन् ।

यसैगरी ३० जना मृगौलापीडित बिरामीहरु सम्पर्कमा आएको बेनी अस्पतालले जनाएको छ । मृगौला डायलाइसीस सेवा सञ्चालनपछि हालसम्म १२ जनाले सेवा लिइसकेका छन् ।

विद्युत नभएको अवस्थामा मृगौला डायलाइसीस गर्नका लागि १० केभिए क्षमताको जेनेरेटर जडान गरी तयारी अवस्थामा राखिएको छ । मृगौलापीडित बिरामीहरुलाई डायलाइसीस सेवा प्रदान गर्न २ जना डाक्टरसहित तालिम प्राप्त ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

अहिले नियमित ३ जना बिरामीहरुको मृगौला डायलाइसीस भैरहेको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो । बेनी अस्पतालमा मृगौलाको डायलाइसीस सेवा सुरु भएसँगै म्याग्दीसहित मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

यसअघि डायलाइसीस सेवाका लागि बागलु«ङ, पोखरा, काठमाडौं र चितवन जानुपर्ने बाध्यता थियो । जिल्लामै डायलाइसीसको सेवा लिन पाउँदा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समय र पैसाको समेत बचत भएको बिरामीहरु बताउँछन् ।

डायलाइसीस सेवासहित प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट बेनी अस्पतालमा अक्सिजन प्लान्ट तथा आईसीयु स्थापना र सञ्चालन, फोहोर व्यवस्थापन, सवारीसाधन खरिद, स्टोर भवन लगायतमा सहयोग भएको छ । २०७२ सालमा १५ शैयाबाट ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल ५० शैयाको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

Leave a Reply