बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर दंग परे ।

सत्यवतीका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलको नेतृत्वमा आएको ६२ जनाको शिक्षकलाई विद्यालयमा स्वागतसँगै शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गरिएको थियो । अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको प्रअ पौडेलले बताए ।

‘शिक्षकको मात्रै प्रयासले विद्यालयको प्रगति हुदैन्,‘अभिभावकको निगरानीले पनि ठूलो भूमिका खेल्छ’ प्रअ पौडेलले भने । उनले सानो ठाउँ भएपनि पूर्वाधार सहित विद्यार्थीको आर्कषण देखेको बताए । उनले आफ्नो विद्यालयका राम्रा अभ्यासलाई समेत जानकारी गराएका थिए भने नयाँ अभ्यासलाई विद्यालयमा लागु गर्ने बताए ।

सत्यवती मावि समेत देशभरका उत्कृष्ट नमुना सामुदायिक विद्यालय भित्र पर्छ । भ्रमणको क्रममा बेनी सामुदायिका प्रअ दिपक श्रेष्ठले सामुदायिक विद्यालयबिचको सहकार्यलाई बलियो बनाउनुपर्नेे बताए । उनले छिमेकी जिल्लाबाट समेत विद्यार्थी आउने भएकाले यातायात सहित अन्य सुविधाहरू थप्ने तयारीमा रहेको बताए ।

उनले विद्यार्थीको चाप अनुसारको पुर्वाधार नहुदाँ प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताए । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट १ सय २३ विद्यालयले भ्रमण गरेका छन् । सर्वोत्कृष्ट भएपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । यता भ्रमणमा आउने अधिकांस विद्यालयले एक रात बेनीमा विताउने भएकाले होटल ब्यवसायी समेत उत्साहित हुने गरेका छन् । शैक्षिक भ्रमणले आर्थिक कारोबारमा समेत सघाइरहेको ब्यवसायीको भनाई छ ।

Leave a Reply