नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा शनिबार मंगला गाउँपालिका–३ र ४ बराङ्जामा वडास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

सर्वोच्च अदालतले यसअघि एमाले र माओवादीबीच भएको एकतालाई भङ्ग गरी दुवैलाई व्युँताइदिएपछि पहिलो कार्यक्रम एमाले म्याग्दीले बराङ्जामा गरेको हो ।  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्माले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको बताए ।

उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश विकास र जनताका लागि जनमुखी काम गरिरहेको बताउँदै भारतले मिचेको भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने, विप्लपसँग वार्ता गरी शान्तिको बाटोमा ल्याउने र कोभिड नियन्त्रणमा उल्लेख्य काम गरेको बताएका छन् ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देश विकास र नेपाली जनताको जनजीविकाको सवालमा काम गर्ने केपी ओली नेतृत्वको सरकार भएको बताउँदै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले रहेको ठोकुवा गरे । उनले देश विकास र समृद्धिका लागि एमालेमा लाग्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

भेलामा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी, सचिवालय सदस्य प्रमोद श्रेष्ठ, युवा संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, भुमि आयोगका जिल्ला सदस्य पुष्कर विक, एमाले मंगला गाउँपालिका अध्यक्ष प्रेमप्रसाद रेग्मी र मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले मन्तव्य राखेका थिए ।

भेला नेकपा एमाले मंगला–३, बराङ्जा वडा कमिटीका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षता, वडा अध्यक्ष कविन्द्र रोकाको स्वागत र मंगला–४, बराङ्जाका वडा कमिटी अध्यक्ष कलाधर कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply