नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको हत्या गर्न खोज्ने केपी शर्मा ओलीको सरकारलाई हटाउन अभियानको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौ दिनको पुण्यतिथिको अवसरमा सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताउनुभयो ।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाई छ ।

सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभनमा फस्ने खोजेजस्तो देखिएको बताउँदै वर्तमान सरकारलाई टिकाउनु लोकतन्त्रको आयु नै हटाउनु भएको बताउनुभयो ।
माओवादी जनयूद्धमा कांग्रेसका लागि प्रचण्ड र अहिले केपी ओली खतराको पात्र भएको बताउँदै कम्यूनिष्ट स्थायी मित्र नभएपनि अहिलेको अवस्थामा केपी ओली प्रमुख बाधक भएको बताउनुभयो ।

संसद विघटन सम्मको निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई अझै सत्तामा बस्ने वातावरण बनाए थप संकटमा देश फस्ने बताउँदै कुनैपनि हालतमा सरकालाई हटाउनुपर्ने बताउनुभयो । नेता पौडेलले नेकपाको विवादमा सर्बोच्च अदालतले मागदावीभन्दा माथी गएर नेताको शैलीमा फैसला गरेको भन्दै घुमाउरो पाराले सेटिङको झल्को दिएको बताउनुभयो ।

मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति भएको बताउँदै केपी ओलीमा राजनीतिक आचरन र नैतिकता नभएको समेत बताउनुभयो । अधिकांस समय प्रधानमन्त्री ओली बिरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार बनाउन एमाले बाहेकलाई साथ दिनुपर्ने बताउनुभयो।

पार्टी सभापति देउवाले ओली बिरुद्ध बोल्न नसक्नुमा केही स्वार्थ लुकेको हुनसक्ने समेत आशंक ब्यक्त गर्नुभएको छ। जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्ने समेत सभापति देउवालाई अनुरोध गर्नुभयो । श्रद्धाञ्जली सभामा म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो ।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गष्त मंगलाबार ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए। कांग्रेस म्याग्दीले स्वर्गीय खड्कोका सम्झनामा केही योजना बनाएर काम गर्ने सभापति खमबहादुर गर्बुजाले बताउनुभयो ।

Leave a Reply