पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि आर्थिक अभियान सुरु भएको छ। रुममा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रुम गाउँमा नै कक्षा ११ र १२ सञ्चालनको लागि आर्थिक अभियान सुरु गरेको जनाएको हो ।

गएको फागुन १४ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र शिक्षक तथा सरोकारवालासहित बसेको बैठकले गाउँमै कक्षा १२ सम्म अध्ययन तथा अध्यापन गराउनका लागि आर्थिक सङ्कलन गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कक्षा ११ र १२ सञ्चालन गर्न गाउँमा आर्थिक सहयोग सङ्कलन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर घर्तीमगरले जानकारी दिए ।

प्रअ घर्तीमगरका अनुसार मालिका–२, रुम गाउँभित्र बसोबास गर्ने सम्पूर्ण घरधुरीलाई न्युनतम दुईहजार रुपैयाँ अनिवार्य सहयोग गर्न रकम तोकिएको छ । इच्छुक तथा सहयोगी व्यक्तिले सो रकमभन्दा माथि पनि सहयोग गर्न सकिने विद्यालयले जनाएको छ ।

गाउँमा कक्षा १२ सम्म अध्ययन÷अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट अधिकांश विद्यार्थीहरु बञ्चित भएका छन् । रुम गाउँमै कक्षा ११ र १२ सञ्चालन भएमा दुर्गम क्षेत्रका विद्यार्थीलाई राहत मिल्नेछ । कक्षा १२ सम्मको अध्ययन गर्ने तयारी थालिएपछि स्थानीयवासी खुसी भएका छन् ।

Leave a Reply