म्याग्दीको मालिका गाउँपालिका-२,रूम लुक्सिरका १६ बर्षिय केशब बिक दैनिक ज्यालामजदुरीमा ब्यस्त छन् । छिमेकी गाउँ निस्कोटमा आमा समुहको निर्माणधिन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका बिक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिर्कमीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन् ।

गतबर्षको एसइईमा विद्यालयबाट सबैभन्दा उत्कृष्ट नतिजा ‘बि प्लस’ ल्याएका विकको उच्च शिक्षा पढ्ने जाने रहर भएपनि चरम गरिबीका कारण वञ्चित भएको बताए ।‘घरबाट पढ्न जाने पैसा छैन्,‘बुबाको कमाईले घरखर्च चल्छ,‘काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ’ विकले भने ।

उनले गाउँमा रहेको विद्यालयबाट एसइई दिएपनि उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनीमा जाने आर्थिक जुटाउन समेत दैनिक मजदुरीमा खटिएको बताए । उच्च शिक्षा त मेरो लागि सपना जस्तै हो,‘घरबाट पढ्न जाने अवस्था नै छैन्, कमाएर पढ्नुपर्ने बाध्यता छ’ विकले भने ।

पोशाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हतौडा लिएर हिड्नुपरेको बताउँदै आफ्नो जस्तै समस्या बहिनीलाई हुन नदिन मजदुरी गरिहरेको बताए ।

विककी बहिनी गाउँमै कक्षा ९ मा अध्ययनरत छिन् । विपन्न रनबहादुरका ३ छोरा र ४ छोरी छन्। रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुदाँ ज्यालामजदुरीका लागि सँगै लैजाने गरेको बताए ।उनले छोराको बाँकी पढाई गाउँमै अन्त्य गर्नुपरेकोे भन्दै भक्कानिए ।

आर्थिक अवस्था कमजोर भएकाले गाउँकै विद्यालयमा पढ्ने छोराछोरीलाई समेत आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसक्ने अवस्थामा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक प्रेमबहादुर घर्तीले बताए । ‘गरिबीले उच्च शिक्षाको बाटोमाछेकबार लगाएको छ,‘सहयोग जुटाउन सकेमा राम्रो पढ्न सक्छन्’ प्रअ घर्तीले भने ।

उनले विद्यालयमा विक लगनशील, मिहनेती तथा अनुशासित छात्रका रुपमा रहेको बताए । उनले गएको एसइईमा विद्यालयबाट सबैभन्दा राम्रो नतिजा ल्याएर उत्र्तिणा भएको अवस्थामा पोसाक, कापीकमल, खाना र बस्ने खर्च जुटाउन नसक्दा पढाई छोड्न बाध्य भएको बताए ।

उनले विकलाई आर्थिक सहयोग गरेमा उच्च शिक्षामा राम्रो अंक ल्याउन सक्ने बताए । गाउँमा कक्षा १२ सम्म अध्ययन÷अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट बञ्चित विद्यार्थीलाई समेत लक्षित गरी गाउँमै कक्षा ११ सञ्चालनको विकल्प नभएको बताए ।

यता म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले केहीदिनमै भर्ना सहितको प्रक्रियामा सहभागि भए बार्षिक परीक्षामा सहभागि बनाउन सकिने बताए । उनले क्याम्पसको आन्तरिक परीक्षामा सहभागि भएकालाई छात्रबृत्ति कोटामा समेत सहभागी बनाउन सकिने भएपनि हाल आन्तरिक परीक्षा सञ्चालन भएकाले पोशाक, आवासीय सहित मासिक ५ हजारको अनुमानमा खर्च हुने बताए ।

Leave a Reply