* जनप्रतिनिधिको भूमिका : म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारलाई कर्मक्षेत्र बनाएका डा.खड्का सदरमुकाम स्थित अर्थुङ्गे गाउँ पञ्चायतको प्रधानपञ्च पदमा विजयी भएका थिए। उनी दुई कार्यकाल प्रधानपञ्च रहेर जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्दै जनसेवामा लागिपरेका थिए। तत्पश्चात् पञ्चायतको चरमोत्कर्ष कालमा उनी र उनले समर्थन गरेका उम्मेदवारहरूले चुनावी सफलता हासिल गर्न सकेनन्। तत्कालिन जिल्ला पञ्चायत सदस्यमा समेत बनेका उनी २०४३को राष्ट्रिय पञ्चायत सदस्यमा प्रत्यासी बने, त्यतिबेला ४,३६७ मतका साथ तेस्रो स्थानमा रहे।
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात् २०४८ मा भएको प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट तत्कालिन म्याग्दी क्षेत्र नं १ बाट प्रत्यासी बनेका उनले ७,१९० मत हासिल गरेर निकटतम प्रतिद्वन्द्वी बनेका थिए। यद्यपि चुनावी प्रतिस्पर्धामा असफल भएतापनि उनी जिल्लाको राजनैतिक क्षेत्रको केन्द्रविन्दुमा रहिरहे। * ०३६ सालको जनमत
संग्रहमा बहुदलवादीको नेतृत्व : खड्काले २०३६ सालको जनमत संग्रहमा बहुदलवादी पक्षधरका नेतृत्व गरेका भए। त्यतिबेला उनी लगायतका बहुदल पक्षधरले भोग्नु परेको यातना र कष्टकर क्षण अविष्मरणीय छन्। २०३६ सालको फागुनमा बहुदलको प्रचारप्रसारमा लौहपुरुष गणेशमान सिंहको बेनी आगमनले अत्तालिएका पञ्चायतका पृष्ठपोषकहरूले वितण्डा मच्चाउँदै बहुदलवादीहरूलाई दु:ख दिन थाले। २०३७ बैशाख २० गते चुनावका दिनभन्दा केहि दिन अगावै पञ्चायत पक्षधरहरू तोडफोड र कुटपीटमा उत्रिए।
बेनीबजारस्थित उनको घरका साथै चन्द्रशेखर श्रेष्ठको घरमा ढुङ्गामुढा प्रहार गरी आतङ्कित पारियो। सो घटनापछि बहुदलवादी कार्यकर्ताहरूले उक्त क्रियाकलापको प्रतिवाद गर्ने क्रममा झडप हुन गएको थियो। सो घटनापछि सत्ताधारीहरूले प्रशासनको आडमा १९ जना बहुदलवादी कार्यकर्ताहरूलाई पूर्वाग्रही रुपमा सार्वजनिक अपराधको मुद्दा लगाए। सो मुद्दा लगाइएका भूपेन्द्रबहादुर र मनोरमा खड्का दम्पतिलाई नै पक्रेर थुनामा राखिएको थियो।
उक्त घटनामा मुद्दा खेपेर थुनामा पर्नेहरूमा खड्का दम्पतिका अतिरिक्त चन्द्रशेखर र तेजकुमारी श्रेष्ठ दम्पति, ओमबहादुर र गङ्गा बोगटी दम्पति, इमकुमार र भीमकुमारी श्रेष्ठ दम्पति, राजकुमार र मोहनकुमारी श्रेष्ठ दम्पति, भैरबहादुर र बालकुमारी श्रेष्ठ दम्पति, अबिरकुमार श्रेष्ठ, ओमप्रसाद श्रेष्ठ, मु. गणेशलाल श्रेष्ठ, मेजरमान श्रेष्ठ, मानबहादुर केसी, वीरेन्द्रकुमार श्रेष्ठ र नन्द सेवक थिए। स्मरण रहोस् , घर तोडफोड र जेल यातनाको यस अमानुषिक घटनाले दु:खित रहको जनाउँदै सर्वोच्च नेता गणेशमान सिंहले २०३७ जेठ १३ गते खड्कालाई सम्बोधन गर्दै स्वहस्तलिखित पत्र सम्प्रेषण गरेका थिए।
* म्याग्दी क्याम्पस स्थापनामा अगुवाइ : २०४६ को राजनैतिक परिवर्तनपछि म्याग्दी जिल्लामा उच्च शिक्षा हासिल गराउने शैक्षिक संस्थाका रूपमा क्याम्पस स्थापनाको आवश्यकता महसुस गरियो।
सो कार्यको अगुवाइ गर्दै २०४८ भाद्र ३१ गते प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको अध्यक्षतामा शिक्षक स्टाफको बसेको बैठकले क्याम्पस तत्कालै सञ्चालनार्थ शैक्षिक जनशक्ति उपयोगका लागि तत्पर रहने, साथै क्याम्पस भवन स्थापना नहुँदासम्मका लागि विद्यालय कै भवन र भौतिक सामग्री प्रयोग गर्ने निर्णय गरेको थियो।
उक्त एेतिहासिक निर्णयको भोलिपल्टै (२०४८ असोज १ गते) म्याग्दी जिल्लामा क्याम्पस सञ्चालन गर्ने उद्देश्यले सो विद्यालयले बृहत भेलाको आयोजना गरेको थियो। उक्त भेलाले क्याम्पस सञ्चालन र सोका लागि अर्थ सङ्कलन र आवश्यक सम्पूर्ण कार्य गर्न “प्रस्तावित म्याग्दी क्याम्पस तयारी समिति” गठन गरेको थियो।
प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको संयोजकत्वमा गठित ४१ सदस्यीय उक्त समितिमा डा. भूपेन्द्रबहादुर खड्का पनि सदस्य थिए। यसरी उनी जिल्लाकै पहिलो क्याम्पसको स्थापना र सञ्चालनमा अगुवाइ गर्ने शैक्षिक अभियन्ता मध्येका एक हुन पुगे।
उक्त क्याम्पसको संस्थापक सदस्य समेत रहेका उनी सो क्याम्पसको २०४८ असोज १८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा पौडेलको अध्यक्षतामा गठित पहिलो सञ्चालक समितिको उपाध्यक्ष हुन्। सो क्याम्पसको ०५३ असोज २५ सम्पन्न पहिलो साधारण सभाबाट ललितबहादुर खड्काको अध्यक्षतामा गठित दोस्रो सञ्चालक समितिमा खड्का पुन: सदस्य भएका थिए। देखि २०५६ माघ १३ गते सम्पन्न दोस्रो साधारण सभाबाट उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्ष रहेका उनले विभिन्न उपसमितिमा रहेर क्याम्पसको विकासमा योगदान पु-याएका थिए।
शैक्षिक व्यक्तित्व खड्का धवलागिरि माध्यमिक विद्यालय, बागलुङको संस्थापक सचिव हुन्। उनले बेनी बसाइको प्रारम्भिक कालमा प्रकाश माध्यमिक विद्यालयमा शिक्षण गरेका थिए। पछि विविध समयमा उक्त विद्यालयको सञ्चालक/ व्यवस्थापन समितिको सदस्य रहेका उनी पछिल्लो समयमा सो विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रहेका थिए।
* नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा : २०४६को जनआन्दोलनको सफलतापछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात कांग्रेस नेता रामचन्द्र पौडेलको उपस्थितिमा २०४७ बैशाख २ गते म्याग्दी कांग्रेसको जिल्ला तदर्थ समिति गठन भएको थियो, उक्त समितिको वि. सं.२०४७ जेष्ठ १९ गतेको बैठकको निर्णयअनुसार विस्तारित समितिमा सदस्यमा मनोनित भएका खका ३०४८ भदौ २५ गते पुनर्गठित समितिमा पुन: सदस्य भएका थिए।
नेपाली कांग्रेसको पहिलो जिल्ला अधिवेशनको क्रममा उनी २०४८ माघ ४ गते भुरुङ ताताेपानीमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट तत्कालिन क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधिमा निर्वाचित भै महासमिति सदस्य बनेका थिए। यसरी २०४८ माघ १९ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनमार्फत सदस्य बनेका उनी २०५३ वैशाख १६ गते भएको कांग्रेसको दोस्रो अधिवेशनबाट पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुदै महासमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए नेपाली कांग्रेस, जिल्ला कार्य समित