* जन्म/जन्मस्थान/ पिता-माता : भूपेन्द्रबहादुर खड्काको जन्म वि.सं.१९९८ साउन २० गते भएको हो। खड्का साविक कालिका गाउँ विकास समिति, वडा नं.७, बागलुङ (हालको बागलुङ नगरपालिका, वडा नं. ४) निवासी हिराबहादुर र डम्बरकुमारी खड्काका छोरा थिए। * बाल्यकाल/ शिक्षार्जन: खड्काको बाल्यकाल जन्मथलो बागलुङमै बितेको हो। आर्थिक रुपमा सबल र सक्षम परिवारमा जन्मेका उनको पालनपोषण र शिक्षादीक्षामा कुनै पनि कुराको अभाव हुन पाएन। प्रारम्भिक अध्ययन बागलुङको विद्यामन्दिर हाइ स्कुलमा भएको उनले कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। उनले डिएमएस, बि ए, बिएल उत्तीर्ण गरेका थिए।
* विवाह/सन्तान : खड्काको विवाह साविक माझफाँट गाविस वडा नं ३, मल्लाज (हाल जलजला गाउँपालिका, वडा नं.३) मलाज,पर्वत निवासी स्व. बौद्धबहादुर र स्व. टीकाकुमारी मल्लका छोरी मनोरमा मल्ल खड्का (जन्म वि.सं.२००२ असोज २२) सँग २०२२ माघ २६ गते भएको थियो। उनका सन्तानहरू एक छोरा र एक छोरी क्रमशः हिमांशु (२०२३ असोज २२) र चित्रा (२०२५ साउन २९) जन्मिए।
* पारिवारिक विवरण/ सन्तति: खड्काका बुबा- मुमा स्व. हिराबहादुर – स्व.डम्बरकुमारी खड्का हुन्। उनका सासु-ससुरा स्व.बौद्धबहादुर – स्व. टिकाकुमारी मल्ल हुन्। उनका पत्नी स्व.मनोरमा खड्का (स्वर्गारोहण:२०६१ जेठ ३२) हाल यी सबै दिवंगत भैसकेका छन्। उनका छोरा – बुहारी हिमांशु – लक्ष्मी खड्का (ललितपुर महानगरपालिका-१४, मिलनचोक, ललितपुर) र छोरी-ज्वाइँ चित्रा – क्या. अरुण मल्ल (पुल्चोक, ललितपुर, हाल: बुढानिलकण्ठ, काठमाडौं) रहेका छन्।
उनका छोरा हिमांशु खड्का नेपाली सेनाको सहायक रथी (जर्नेल) पदमा कार्यरत छन्। उनका ज्वाइँ अरुण मल्ल डाइनाष्टी एअरका मुख्य पाइलट छन्। खड्काका नाति – नातिनीतर्फ नातिनी चार मध्ये छोरा हिमांशुतर्फका दुई छोरी तरुलता र तेजस्वी खड्का रहेका छन्। यसैगरी छोरी चित्रातर्फका दुई छोरी अंगाना र आँचल मल्ल रहेका छन्। उनका नातनी- ज्वाँइतर्फ एकमात्र कृशान्तजङ्ग राणा, पुल्चोक – ललितपुर (अाँचल) रहेका छन्।
* बेनीबजारमा बसाइसराइ : खड्का २०२२सालमा पुर्ख्यौली घर, बागलुङबाट बसाइसराइ गरी बेनीबजार बसोबास गरेका थिए। वैवाहिक जीवनमा प्रवेश गरे लगत्तै शुरुका केही दिन मंगलाघाट क्षेत्रबहादुर श्रेष्ठका छोरा रुद्रप्रसाद श्रेष्ठका घरमा बसेका उनी त्यसपछि शान्ति टोलस्थित टंकराज श्रेष्ठका घरमा सरेका थिए।
उनले वि.सं. २०२५ मा संगम चोकमा आफ्नै घर बनाएर सोही घरमा बसोबास गर्दै आए। आरम्भिक व्यवशायका रूपमा खड्काले मेडिकल सञ्चालन गरेका थिए। उक्त व्यवशायका साथै कानुनी व्यवशाय समेतलाई निरन्तरता दिदै उनले आजीवन बेनीबजारलाई नै कर्मक्षेत्र बनाए।
अजयमिलन श्रेष्ठ
* ‘डाक्टर साहेब’का रुपमा परिचित : खड्काको औषधोपचारको सेवाको सकारात्मक प्रभाव उनको जीवनको उपलब्धि मध्येको एउटा उल्लेखनीय पाटो बनेको छ। स्वास्थ्य सेवाको सुविधा सहज नरहेको तत्कालिन परिस्थितिमा उनको सेवामुखी कार्य बिरामी र बिरामीका आफन्तलाई सदैव स्मरणीय र गुणग्राही बन्यो।
यही गुणको खातिर उनलाई सबैले ‘डाक्टर साहेब’ का रूपमा सम्बोधन गर्थे। उनलाई आदर भावले बोलाउने गरिएको यही “डाक्टर साहेब” को उपाधि नै उनीप्रति हार्दिकतापूर्वक दर्शाइएको उच्च सम्मान थियो र उनको जीवनमा आर्जित मुख्य निधि पनि। यसरी जनमानसमा ‘डाक्टर साहेब’को पहिचान बनाएका उनको नाम डा. भूपेन्द्रबहादुर खड्काकै रुपमा प्रचलित र प्रख्यात रह्यो।
* साहित्यप्रेमी व्यक्तित्व : खड्का साहित्यप्रेमी पनि थिए। बेनीबजारस्थित हालको प्रकाश माध्यमिक विद्यालय, प्रकाश मिडिल स्कूल प्रकाशक रहेको धवलागिरि अञ्चलकै पहिलो साहित्यिक पत्रिका “नवप्रकाश” बर्ष १ अङ्क १ वि.सं.२०२० मा प्रकाशित भयो।
उक्त पत्रिकाको दोस्रो अङ्क २०२५ मा उनकै सम्पादकत्वमा प्रकाशित भएको थियो, त्यस अङ्कमा उनको ‘एक चिहान: तीन लाश’ शीर्षकको कथा प्रकाशित भएको थियो। यसैगरी २०३०मा प्रकाशित सोही पत्रिकाको तेस्रो अङ्कमा उनको “नमस्ते” शीर्षकको कथा प्रकाशित भएको थियो। तत्पश्चात पनि उनले साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाएका थिए।
उनलाई पत्रिकाको प्रकाशन गर्ने ठूलो रहर थियो। उनको प्रधान सम्पादकत्वमा प्रकाशित “हालचाल” र “समर्पण” यी दुवै साप्ताहिकले निरन्तरता पाउन भने सकेनन् , तथापि उनले यी र अन्य पत्रिकामा पनि निरन्तर लेख रचना प्रकाशित गरिरहन्थे। खड्का प्रकाश पुस्तकालय ( हालको म्याग्दी सामुदायिक पुस्तकालय)को संस्थापक सदस्य समेत हुन् । उनी उक्त पुस्तकालयको अध्यक्ष समेत बनेका थिए।

* जनप्रतिनिधिको भूमिका : म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारलाई कर्मक्षेत्र बनाएका डा.खड्का सदरमुकाम स्थित अर्थुङ्गे गाउँ पञ्चायतको प्रधानपञ्च पदमा विजयी भएका थिए। उनी दुई कार्यकाल प्रधानपञ्च रहेर जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्दै जनसेवामा लागिपरेका थिए। तत्पश्चात् पञ्चायतको चरमोत्कर्ष कालमा उनी र उनले समर्थन गरेका उम्मेदवारहरूले चुनावी सफलता हासिल गर्न सकेनन्। तत्कालिन जिल्ला पञ्चायत सदस्यमा समेत बनेका उनी २०४३को राष्ट्रिय पञ्चायत सदस्यमा प्रत्यासी बने, त्यतिबेला ४,३६७ मतका साथ तेस्रो स्थानमा रहे।

बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात् २०४८ मा भएको प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट तत्कालिन म्याग्दी क्षेत्र नं १ बाट प्रत्यासी बनेका उनले ७,१९० मत हासिल गरेर निकटतम प्रतिद्वन्द्वी बनेका थिए। यद्यपि चुनावी प्रतिस्पर्धामा असफल भएतापनि उनी जिल्लाको राजनैतिक क्षेत्रको केन्द्रविन्दुमा रहिरहे। * ०३६ सालको जनमत
संग्रहमा बहुदलवादीको नेतृत्व : खड्काले २०३६ सालको जनमत संग्रहमा बहुदलवादी पक्षधरका नेतृत्व गरेका भए। त्यतिबेला उनी लगायतका बहुदल पक्षधरले भोग्नु परेको यातना र कष्टकर क्षण अविष्मरणीय छन्। २०३६ सालको फागुनमा बहुदलको प्रचारप्रसारमा लौहपुरुष गणेशमान सिंहको बेनी आगमनले अत्तालिएका पञ्चायतका पृष्ठपोषकहरूले वितण्डा मच्चाउँदै बहुदलवादीहरूलाई दु:ख दिन थाले। २०३७ बैशाख २० गते चुनावका दिनभन्दा केहि दिन अगावै पञ्चायत पक्षधरहरू तोडफोड र कुटपीटमा उत्रिए‌‌।
बेनीबजारस्थित उनको घरका साथै चन्द्रशेखर श्रेष्ठको घरमा ढुङ्गामुढा प्रहार गरी आतङ्कित पारियो। सो घटनापछि बहुदलवादी कार्यकर्ताहरूले उक्त क्रियाकलापको प्रतिवाद गर्ने क्रममा झडप हुन गएको थियो। सो घटनापछि सत्ताधारीहरूले प्रशासनको आडमा १९ जना बहुदलवादी कार्यकर्ताहरूलाई पूर्वाग्रही रुपमा सार्वजनिक अपराधको मुद्दा लगाए। सो मुद्दा लगाइएका भूपेन्द्रबहादुर र मनोरमा खड्का दम्पतिलाई नै पक्रेर थुनामा राखिएको थियो।
उक्त घटनामा मुद्दा खेपेर थुनामा पर्नेहरूमा खड्का दम्पतिका अतिरिक्त चन्द्रशेखर र तेजकुमारी श्रेष्ठ दम्पति, ओमबहादुर र गङ्गा बोगटी दम्पति, इमकुमार र भीमकुमारी श्रेष्ठ दम्पति, राजकुमार र मोहनकुमारी श्रेष्ठ दम्पति, भैरबहादुर र बालकुमारी श्रेष्ठ दम्पति, अबिरकुमार श्रेष्ठ, ओमप्रसाद श्रेष्ठ, मु. गणेशलाल श्रेष्ठ, मेजरमान श्रेष्ठ, मानबहादुर केसी, वीरेन्द्रकुमार श्रेष्ठ र नन्द सेवक थिए। स्मरण रहोस् , घर तोडफोड र जेल यातनाको यस अमानुषिक घटनाले दु:खित रहको जनाउँदै सर्वोच्च नेता गणेशमान सिंहले २०३७ जेठ १३ गते खड्कालाई सम्बोधन गर्दै स्वहस्तलिखित पत्र सम्प्रेषण गरेका थिए।
* म्याग्दी क्याम्पस स्थापनामा अगुवाइ : २०४६ को राजनैतिक परिवर्तनपछि म्याग्दी जिल्लामा उच्च शिक्षा हासिल गराउने शैक्षिक संस्थाका रूपमा क्याम्पस स्थापनाको आवश्यकता महसुस गरियो।
सो कार्यको अगुवाइ गर्दै २०४८ भाद्र ३१ गते प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको अध्यक्षतामा शिक्षक स्टाफको बसेको बैठकले क्याम्पस तत्कालै सञ्चालनार्थ शैक्षिक जनशक्ति उपयोगका लागि तत्पर रहने, साथै क्याम्पस भवन स्थापना नहुँदासम्मका लागि विद्यालय कै भवन र भौतिक सामग्री प्रयोग गर्ने निर्णय गरेको थियो।
उक्त एेतिहासिक निर्णयको भोलिपल्टै (२०४८ असोज १ गते) म्याग्दी जिल्लामा क्याम्पस सञ्चालन गर्ने उद्देश्यले सो विद्यालयले बृहत भेलाको आयोजना गरेको थियो। उक्त भेलाले क्याम्पस सञ्चालन र सोका लागि अर्थ सङ्कलन र आवश्यक सम्पूर्ण कार्य गर्न “प्रस्तावित म्याग्दी क्याम्पस तयारी समिति” गठन गरेको थियो।
प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको संयोजकत्वमा गठित ४१ सदस्यीय उक्त समितिमा डा. भूपेन्द्रबहादुर खड्का पनि सदस्य थिए। यसरी उनी जिल्लाकै पहिलो क्याम्पसको स्थापना र सञ्चालनमा अगुवाइ गर्ने शैक्षिक अभियन्ता मध्येका एक हुन पुगे।
उक्त क्याम्पसको संस्थापक सदस्य समेत रहेका उनी सो क्याम्पसको २०४८ असोज १८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा पौडेलको अध्यक्षतामा गठित पहिलो सञ्चालक समितिको उपाध्यक्ष हुन्। सो क्याम्पसको ०५३ असोज २५ सम्पन्न पहिलो साधारण सभाबाट ललितबहादुर खड्काको अध्यक्षतामा गठित दोस्रो सञ्चालक समितिमा खड्का पुन: सदस्य भएका थिए। देखि २०५६ माघ १३ गते सम्पन्न दोस्रो साधारण सभाबाट उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्ष रहेका उनले विभिन्न उपसमितिमा रहेर क्याम्पसको विकासमा योगदान पु-याएका थिए।
शैक्षिक व्यक्तित्व खड्का धवलागिरि माध्यमिक विद्यालय, बागलुङको संस्थापक सचिव हुन्। उनले बेनी बसाइको प्रारम्भिक कालमा प्रकाश माध्यमिक विद्यालयमा शिक्षण गरेका थिए। पछि विविध समयमा उक्त विद्यालयको सञ्चालक/ व्यवस्थापन समितिको सदस्य रहेका उनी पछिल्लो समयमा सो विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रहेका थिए।
* नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा : २०४६को जनआन्दोलनको सफलतापछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात कांग्रेस नेता रामचन्द्र पौडेलको उपस्थितिमा २०४७ बैशाख २ गते म्याग्दी कांग्रेसको जिल्ला तदर्थ समिति गठन भएको थियो, उक्त समितिको वि. सं.२०४७ जेष्ठ १९ गतेको बैठकको निर्णयअनुसार विस्तारित समितिमा सदस्यमा मनोनित भएका खका ३०४८ भदौ २५ गते पुनर्गठित समितिमा पुन: सदस्य भएका थिए।
नेपाली कांग्रेसको पहिलो जिल्ला अधिवेशनको क्रममा उनी २०४८ माघ ४ गते भुरुङ ताताेपानीमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट तत्कालिन क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधिमा निर्वाचित भै महासमिति सदस्य बनेका थिए। यसरी २०४८ माघ १९ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनमार्फत सदस्य बनेका उनी २०५३ वैशाख १६ गते भएको कांग्रेसको दोस्रो अधिवेशनबाट पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुदै महासमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए नेपाली कांग्रेस, जिल्ला कार्य समित

तिको २०५७ मंसिर १३ मा सम्पन्न तेस्रो अधिवेशन र २०६१ माघ २७ मा सम्पन्न चौथो अधिवेशनमार्फत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। दुई कार्यकाल सभापति बनेका खड्का २०६७ साउन १६ गते भएको पाचौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भै पदेन सदस्य बनेका थिए।

२०७२ फागुन १० गते सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट निर्मित हालको कार्य समितिले उनलाई वरिष्ठ नेताका रूपमा सम्मान गरेको थियो।तिको २०५७ मंसिर १३ मा सम्पन्न तेस्रो अधिवेशन र २०६१ माघ २७ मा सम्पन्न चौथो अधिवेशनमार्फत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
दुई कार्यकाल सभापति बनेका खड्का २०६७ साउन १६ गते भएको पाचौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भै पदेन सदस्य बनेका थिए। २०७२ फागुन १० गते सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट निर्मित हालको कार्य समितिले उनलाई वरिष्ठ नेताका रूपमा सम्मान गरेको थियो।

* देहावसान : भूपेन्द्र बहादुर खड्काको स्वर्गारोहण २०७७ फागुन २५ गते भएको हो। फागुन २३ गते बिहान स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई म्याग्दी अस्पतालबाट थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो। मंगलबार बिहान उनको अकस्मात निधन भयो। उनको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा भएको थियो।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाउदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशाङ्क कोइराला, जिल्ला सभापति खमबहादुर गर्बुजा लगायतले सम्मान प्रकट गरेका थिए। म्याग्दी कांग्रेसले सोही दिन शोकसभा गर्दै स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ। २०७७ फागुन २८ गते नेपाली कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति संविधान सभा सदस्य रेशमबहादुर बानियाँ लगायत म्याग्दी कांग्रेसका जिल्ला नेतृत्वमा रहेका व्यक्तित्वहरूको सहभागितामा स्वर्गीय खड्काको अस्तु काली – म्याग्दी दोभानमा बिसर्जन गरिएको थियो। यसैगरी २०७७ चैत १ गते वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सदरमुकाम बेनी बजारमा शोक सभाको आयोजना गरिएको थियो।

* बहुआयामिक व्यक्तित्व अनि आस्थाका धरोहरको स्मरण : बहुआयामिक व्यक्तित्व खड्का एक सामाजिक अभियन्ता हुन्‌। नेपाल बाल संगठनमा आजिवन सदस्य रहेका उनी २०२५ र २०४४ मा उक्त संस्थाको सदस्य रहेका थिए। नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य रहेका उनी सो संस्थाको म्याग्दी शाखाको पूर्व सभापति पनि हुन्। नेपाल बार एसोसिएसन, म्याग्दी जिल्ला अदालत इकाइ र धवलागिरि अञ्चल इकाइका अध्यक्ष बनेका उनी पश्चिमाञ्चल क्षेत्रीय अदालत इकाइका पूर्व उपाध्यक्ष पनि हुन्।

तत्कालिक निलगिरि विकास बैंकका संस्थापक उनी उक्त बैंक एकीकृत भइ गरिमा विकास बैंकमा परिणत भए पछि सञ्चालक बोर्डका सदस्य बनेका थिए। यसरी राजनीतिक र शैक्षिक क्षेत्रबाहेक सामाजिक, कानुनी र वित्तीय संस्था समेतमा उनको संलग्नता र सक्रिय भूमिका रहेको थियो।
उनको देहावसानले बिरामी आत्माहरूलाई शितलता प्रदान गर्दै आर्जित ‘डाक्टर साहेब’ को पहिचान एउटा जीवन्त इतिहासको बिषय बनेको छ र संघर्षशील जीवनका कठोरतम क्षणहरूका ती चट्टानी अडान र स्वाभिमान केबल सम्मानको बिषय मात्र बनेको छ, अनि
म्याग्दी जिल्लाका बहुआयामिक व्यक्तित्व – आस्थाको धरोहरकाे अवसान अब मात्र स्मृतिको बिषय बनेको छ, करिब छ दशकको एउटा जीवन्त कालखण्डको अन्त्यको दु:खदायी घडीमा स्वर्गीय खड्का झैं विपतमा पनि नआत्तिने अनि प्रतिकूलताको सामना गर्ने क्षमता र प्रवृत्तिको अनुशरणले नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने छ। अन्तमा, पुन: स्वर्गीय भूपेन्द्रबहादुर खड्काप्रति हार्दिक श्रद्धा सुमन !

Leave a Reply