छिमेकी मुलुक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक र निर्माणाधीन विद्यालय भवनको अनुगमन भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा बुधबार सडक आयोजनासहित विद्यालय भवनको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।

समन्वय प्रमुख केसी नेतृत्वको उक्त टोलीले हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्डमा अनुगमन गरेको जनाएको छ । टोलीबाट म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरदेखि रघुगंगाको चमेरे, तिप्ल्याङ, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै भूरुङ–तातोपानी र दाना भएर काभ्रेभीर क्षेत्रमा अनुगमन गरिएको थियो ।

उक्त खण्डमा निर्माणाधीन कालीगण्डकी करिडोर सडक, कालीगण्डकी नदीमा तटबन्ध निर्माण, रघुगंगा–१, बेखखोलास्थित तिप्ल्याङको कालीगण्डकी नदी र अन्नपूर्ण–२ भूरुङ–तातोपानी जोड्ने पक्की मोटरेबल पुलको समेत अनुगमन भएको छ ।

भूरुङ–तातोपानी क्षेत्रमा कालीगण्डकी नदी किनारमा निर्माणाधीन नदी तटबन्धको काममा न्युन सङ्ख्यामा मजदुरको परिचालन र ढिलाई भैरहेको देखिएको हुँदा सम्बन्धित निर्माण व्यवसायी र आयोजनाको ध्यानाकर्षण गराइने जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

यसैगरी कालीगण्डकी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिको काम सन्तोषजनक देखिएको बताउँदै प्रमुख केसीले यसलाई समयमै निर्माणसम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले विकास निर्माणका काममा सबै क्षेत्रबाट रचनात्मक सहयोगसहित स्थानीयको तर्फदेखि खबरदारी गर्न आवश्यक रहेको भन्दै वर्षात्को समय अगावै निर्माणको काम सक्नका लागि आयोजना र ठेकेदारले कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै दानाको ज्ञानप्रकाश र नारच्याङको प्रभा माविमा निर्माणाधीन चारकोठे विद्यालय भवनको कामले गति लिएको प्रमुख केसीले बताए । जिल्लामा भैरहेका विकास निर्माणका योजनासहितका कामलाई गति दिनका लागि निरन्तर अनुगमन गरिने जनाइएको छ ।

Leave a Reply