नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ  स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ । आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ ।

सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल वाटर’ पनि भन्ने गरिन्छ । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।

उच्च रक्तचाप – गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्तो समस्या नरिवल पानी पिउदा ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।

टाउको दुखेमा – गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।

तौल घटाउन – माेटाेपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।

पानीको कमी – गर्मीमा शरीरबाट पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।

स्टामिना – गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ । दिनदिनै नरिवल पानी पिउनुभयो भने स्टामिना बढ्छ ।

छालाको समस्या – गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन् अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् ।

Leave a Reply