सामाजिक तथा मानविय सेवामा सक्रिय लायन्स क्लवको आयोजनामा शुक्रबार रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा परीक्षणको क्रममा १५ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ ।

जनचेतनाको अभाव तथा उपचारको अभावमा ग्रामिण क्षेत्रमा रहेका बिरामीको पहिचान गरी निशुल्क सेवा दिने उद्देश्यले आयोजित शिविरमा रघुगंगामा ७ जना र अन्नपूर्ण गापामा ८ जना मोतियाविन्दुका बिरामी भेटिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए ।

शिविरमा रघुगंगामा २ सय ८० र अन्नपूर्ण गापामा १ सय ८० जना विरामीले सेवा लिएका थिए । रघुगंगा गापा–२ भगवतीमा आयोजित शिविरको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गदैं लायन्स क्लवमार्फत आँखाको उपचारबाट बन्चित भएकालाई दिएको सेवाबाट उत्साहित भएको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष रिम कटुवाल, लायन्स क्लव दोभानकी पूर्व अध्यक्ष अमृतदेवी बानियाँ लगायतले मन्तब्य राखेका थिए । लायन्स क्लव बेनी सिटी र लायन्स क्लव म्याग्दी दोभानको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरको अध्यक्षता दोभानकी सर्मिला थापा र स्वागत बेनी सिटीका अध्यक्ष अमृत बानियाँले गरेका थिए ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित शिविरको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए । लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावलले मन्तब्य राखेका थिए ।

शिविरमा नेत्रज्योती संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरका उपचारपछि बृद्धबृद्धा खुसी हुदै घर फर्किएका थिए । लायन्स क्लवमार्फत म्याग्दीमा सबै स्थानीय तहमा शिविर सञ्चालन पछि मोतियाविन्दुको समस्या भएका बिरामीलाई बेनी अस्पतालमा चैत्र १४ र १५ गते शल्यक्रिया गरिने छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन लायन्स क्लवले अपिल गरेको छ ।

Leave a Reply