तत्कालिन नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको १७ बर्ष पूरा भएको छ। २०६० साल चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०ः४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूमिमा परिणत भएको बेनीबजार रक्तमुछेल थियो। आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना माओवादी गरी ९६ जनाले ज्यान गुमाएका थिए।
सदरमुकाम बेनीबजार र आसपासका क्षेत्रमा प्राप्त भएका शबहरुका आधारमा ९६ जना भनिएको भएता पनि जिल्लाका बिभिन्न ठाउँहरुमा गरी करिब चार सयको ज्यान गएको अनुमान छ।आक्रमणपछि बेनीबजारमा शबहरु छरपष्ट थिए। रगतको आहाल बनेको थियो। र, घाइतेहरुका चित्कारले बेनीबजार स्तब्ध थियो।
घरहरु जलिरहेका थिए। जिल्ला प्रशासन, प्रहरी, जिबिस, म्याग्दी पुस्तकालय, बन, अदालतलगायतका भबनमा आगो बलिरहेको थियो। कैयौं संरचना ध्वस्त भएका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर चन्दलगायतलाई माओवादीले चैत ८ गते अपहरण गरी लगेका थिए। ८ गते बेलुकीसम्म पनि बजार सुनसान थियो। मान्छेहरु घरबाट बाहिर निस्कन सकिरहेका थिएनन्। आकाशमा हेलिकोप्टर घुम्दा मानिसहरु त्रसित हुन्थे। हुन्थे आशावादी पनि।
बेनीबजारवासीले यस्तो अवस्था भोगेको आइतबारदेखि १२ बर्ष पुगेको छ। ‘१२ वर्षमा त खोला पनि फर्किन्छ’ भन्ने नेपाली लोकोक्तिलाई पत्याउने हो भने आक्रमणमा ध्वस्त संरचना, आक्रमणमा मारिएका आफन्त, घाइते र सो आक्रमणबाट प्रभाबित सबैको जीव्बनमा धेरै परिवर्तनहरु आइसक्नुपर्ने हो। तर घाउ चहराइरहेको छ। आक्रमणमा ध्वस्त भौतिक संरचनाका पुनर्निर्माण गरिए पनि मान्छेका पीडा र सपना भने उस्तै छन्। अलपत्र छन्। छरपष्ट छन्। र, छन् आक्रामक र अभिशप्त पनि।
माओवादी आक्रमणबाट ध्वस्त भौतिक संरचना फेरिए पनि बेनीबजारको मौलिकता गुमेको छ। सुन्दरता हराएको छ।आक्रमणमा ज्यान गुमाएका अबस्था दयनीय छ। माओवादी र सरकारी पक्षबाट ज्यान गुमाएकाहरुको परिवारको अवस्था अझै उस्तै छ । माओवादीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि दुईपटक संविधानसभा, प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएपनि माओवादीकै लागि यूद्धमा होमिएका लडाकुको अवस्था दयनीय छ ।
माओवादी २०६२÷०६३ पछि पटकपटक सत्तामा पुग्यो। केही नेता नवधनाध्य भए। सत्ताको उपभोगमा मस्त रहे। तर अधिकांश लडाकु खाडीमुलुक गए कि नेपालमा नै दयनीय जीवन बिताइरहेका छन्। कोही गाउँमै कृषि पेशामा छन । बेनी आक्रमणका कमाण्डर नन्दकिशोर पुन दुईपटक नेपालको उपराष्टपतिमा आसिन भए पनि अधिकांश तत्कालीन लडाकुहरुको अबस्था दयनीय छ।
बेनी आक्रमणलाई ‘एउटा नमिठो सपना र सम्झन नचाहने क्षण’को रुपमा लिन्छन् बेनी आक्रमणका प्रत्यक्षदर्शी र तत्कालिन नेपाल टेलिभिजनका म्याग्दी संवाददाता अमर बानियाँ। बेनी आक्रमणको भिडियो खिचेर नेपाल टेलिभिजनमा प्रसारण गरेका बानियाँलाई त्यतिबेलाको ‘विभत्स दृश्य’ले अहिले पनि झस्काइरहन्छ। जीवनमा यति ठूलो घटना र विभत्सरुप देख्नुपर्ला भनेर कल्पना पनि नगरेको बताउने बानियाँले बेनी आक्रमणको १२ बर्षपछि पनि घटनाबाट पीडित भएकाका व्यथा कम नभएको र सपना पनि तुहिएको अनुभव सुनाए।
आफन्त गुमाएको पीडा राज्यले दिने राहतले कुनै अबस्थामा पनि पूर्ति गर्न नसक्ने बताउने उनीहरुको अबस्था ज्यूँका त्यूँ छ।त्यसैगरी पुलाचौरका फौदबहादुर दर्जी, सूर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्ते दर्जीका परिवारको अबस्था अहिलेसम्म पनि अत्यन्त दयनीय रहेको स्थानीय शिक्षक शिव बानियाँले बताए। दर्जी परिवारको गुजारा अझैसम्म पनि अरुको ज्याला मजदुरी गरेर चलेको छ।
जनयूद्धमा माओवादीबाट मारिएकाहरुले समेत अहिलेसम्म न्याय पाएका छैनन् भने राज्यपक्षबाट बेपत्ता भएकाहरुको खोजीकार्यमा समेत चासो देखाइएको छैन् । फाईल स्टोरी\ धुब्रसागर शर्मा