म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् ।
आजभन्दा १७ बर्षः अघि २०६० चैत्र ७ गते (राती १० बजेर ५५ मिनेटमा) यहि बेनी बजारको सुन्दर वगानमा भिषण युद्ध चल्यो । बन्दुकको नालबाट सत्ता जन्मन्छ र त्यो सत्ता जनपक्षिय सत्ता हुनेछ भन्ने सोचका साथ युद्धमा होमिएका थिए, गलकोट नगरपालिका ५ हरिचौरका पूर्णबहादुर राना ।
उनी त्यो भन्दा पहिले भारतीय सेनामा कार्यरत थिए । गोरखा फौजमा कार्यरत उनी त्यहाँ पेन्सनमा फर्केपछि माओवादी राजनैतिक आन्दोलनमा लागे । हतियार चलाउन, फौजलाई युद्धको लागि तयार गर्न उनको लागि नौलो कुरा थिएन त्यसैले उनले तत्कालिन विद्रोही पक्ष माओवादीको लागि रुकुम लगायतका जिल्लामा रहेर युद्धका लागि फौजी नक्सा योजना बनाउन लागे ।
जनसेनालार्ई हतियार चलाउन सिकाउनेदेखि युद्धमा आक्रमणको रणनीति बनाउने काममा उनको अनुभवले महत्वपुर्ण काम गर्यो । त्यतिबेला उनले अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, विप्लबको कमाण्डमा काम गरे ।
बेनी आक्रमण गर्दा उनले नै नक्सा तयार गरी पासाङलाई दिएका रहेछन् । नन्दबहादुर पुन आफ्नो कमाण्डर भएका कारण उनले बेनी आक्रमण गर्दा कसरी जित्न सकिन्छ भन्ने रणनीतिक योजनासहितको नक्सा तयार गरेर देखाएका रहेछन् । ‘मैले कमेरड पासाङलाई बेनी आक्रमण कसरी गर्दा राम्रो हुन्छ भन्ने नक्साको डिजाइन गरी बुझाएको थिए र त्यही नक्साको आधारमा हमला भएको थियो ’ उनले भने ।
माओवादी पार्टीको योजना अनुरुप बेनी सदरमुकाममा हमला गर्ने योजना चैत्र ९ गतेको थियो तर १५० को संख्यामा रहेको तत्कालिन शाहि सेनाको कमाण्डो फोर्स सदरमुकाम आएको सुचना पाए लगत्तै आक्रमण तोकिएको मितिभन्दा दुई दिनअघि नै गर्नु परेको राना बताउँछन् ।
त्यस आक्रमणको राजनीतिक कमाण्ड नेत्रविक्रम चन्द ‘विप्लव’ले तथा सैन्य कमाण्ड नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । समयले आज विप्लवलाई पछिल्लो नवगठित माओवादी पार्टीको अध्यक्ष बनायो भने पासाङलाई मुलुकको दोस्रो उपराष्ट्रपति बनायो । तर समयले नै माओवादी आन्दोलनलाई पनि यसरी नै कैयौ धारमा विभाजित गरिदेला भन्ने उनले अनुमान गरेका थिएनन् ।
सदरमुकाम बेनी हमला राज्य पक्षका लागि मात्र नभई स्वयंम आक्रमणको योजना बनाउने तत्कालिन माओवादी पार्टीका लागि पनि ठुलो नोक्सानी बेहोर्न परेको युद्ध मोर्चा थियो ।
तर, सो भिषण युद्धमा ज्यान गुमाउनेको यकिन तथ्यांक न राज्य पक्षले सार्वजनिक गर्यो न विद्रोही माओवादीले । सोही भिडन्तमा १० सर्वसाधारणको पनि ज्यान गएको थियो । युद्धको भौतिक क्षतिको तथ्यांक राज्यले राखे पनि मानवीय क्षतिको तथ्यांक अझै एकिन छैन ।
रातभर चलेको भिडन्तमा विद्रोहीले सदरमुकाममा पुरै कब्जा गर्न सफल भए पनि तत्कालिन शाही नेपाली सेनाको कालिप्रसाद गण भने कब्जा गर्न सकेन । तर तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र डिएसपी रणबहादुर गौतम सहित १२७ जनालाई युद्धबन्दी बनाई लगे ।
जसमध्ये विभिन्न स्थानमा गरी विद्रोहीले ३७ जनालाई दुई दिनको अन्तरालमा रिहा गरे भने अन्य ९० जनालाई १७ दिन लगाई रोल्पाको थवाङ र्पुयाएका थिए । रोल्पाको थवाङबाट विद्रोहीले राज्यसँग विभिन्न माग राख्दै माग पुरा गरिदिने शर्तमा राज्यपक्षका कुल ९० जना युद्धबन्दीलाई विद्रोहीले हेलिकप्टर चढाई काठमाडौं पठाएका थिए ।
प्रमुख जिल्ला अधिकारी तथा डीएसपी अपहरणमा परेको भन्दै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा निकै चर्चा पाएको माओवादीले उनीहरुलाई रिहा गर्ने सर्तमा आफ्ना पोलिटव्युरोका नेताहरुलाई राज्यले रिहा गर्नु पर्ने माग राखेको थियो । जसलाई सरकारले पुरा गर्नासाथ उनीहरुलाई मुक्त गरिएका थियो ।
जनयुद्धको शुरु भएको पनि डेढ दशक पुरा भयो । तर अझै पनि ती घाउहरु निको हुन सकेका छैनन् । ७ दलसँग विद्रोही माओवादीले दिल्लीमा गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौता र त्यसपछिको परिर्वतनले अहिलेको यो अवस्थासम्म मुलुक आउने थिएन ।विस्तृत शान्ति सम्झौता भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो र पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टीको रुपमा उदायो तर माओवादीको हिजोको त्यो एकिकृत मोर्चा अहिले विभाजित अवस्थामा छ । माओवादी आन्दोलन टुट, फुट र गुट कारण जनयुद्धको मुद्दाहरु कमजोर बन्दै गइरहेका छन्