जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले १७ बर्ष अगाडी तत्कालिन नेकपा (माओवादी)ले बेनी आक्रमणको क्रममा दोहोरो भिडन्तमा गोली लागेको यूद्ध पोल फिर्ता ल्याउने निर्णय गर्यो । म्याग्दीमा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखले समेत उक्त प्रस्तावमा सहमति जनाए। जिल्ला सभाको भोलीपल्ट नै उक्त प्रस्ताव अनुसार पोल फिर्ता ल्याउने निर्णय मूर्तता नपाउँदै सेलायो ।

पछिल्लो एकदशक यता ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा रहेको युद्ध पोल ल्याउन दर्जनौ ज्ञापनपत्र, ध्यानार्कषणका साथै स्थानीय तहदेखि केन्द्रसम्म प्रतिबद्धतासँगै ढुवानीका लागि हेलिकप्टर चार्टर सम्मका चर्चा भएपनि रातारात केही ब्यक्तिले अनुचित फाईदा लिएर गायब बनाइएको पोल ल्याउने चर्चा केवल मनोरञ्जन र लोकप्रिय बन्नका लागि मात्रै भएको छ।

जिसस, बेनी नगरपालिकाले पोल ल्याउन अहिलेसम्म ठोस पहल गर्न सकेको छैन् ।साना–साना योजनामा रमाउने जनप्रतिनिधिको नजरमा पोल पर्न सकेको छैन् ।वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिले चुनावी चर्चाका लागि पोललाई सम्झिने गरेपनि यूद्ध संग्रालयका लागि आर्कषक मानिने पोलबाट मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रले प्रसस्तै लाभ लिइरहेको छ । केन्द्रमा आउने विदेशीको प्रमुख आर्कषक नै सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल बन्ने गरेको छ ।

नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी आयोजना हुने कार्यक्रमका लागि उक्त स्थानको छनौट गर्ने गरिएको छ । मंगलाघाट जाने बाटोबाट विद्युतका कर्मचारी र मानवअधिकारकर्मीको मिलेमतोमा केन्द्रमा पुर्याइएको पोलमा दैनिक फोटा खिच्नेको भिड लाग्ने गरेको छ । पोल फिर्ता दिनका लागि जिल्लाबाट आधिकारिक पत्रको खोजीमा रहेको केन्द्रलाई एउटा पत्र समेत जिल्लाबाट पठाउन सकिएको छैन् ।

पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकले समेत पोल सम्बन्धित जिल्लामै लैजानुपर्ने सुझाव दिने गरेका छन् । २०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेको पोलबाट केन्द्रले लाखौं आम्दानी गरेको छ ।

गुठीका सञ्चालक कनकमणि दीक्षितले तत्कालिन समयमा विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विना जानकारी सुटुक्क रातीमा पोल परिवर्तन गरी पाटन ढोका पु¥याएका थिए । लामो खोजीपछि सञ्चालक दीक्षितले आवश्यक प्रक्रिया पुरा गरेर आए पोल फिर्ता दिने प्रतिबद्धता जनाएपनि म्याग्दीका सरोकारवाला निकायकै बेवास्ताका कारण फिर्ता ल्याउने साइत जुरेको छैन् ।

बेनी आक्रमणको साँक्षी
माओवादीले बेनी आक्रमण गर्दा गुमाएका हतियारहरु मुस्किलले भेटिने गरेको अवस्थामा पोल एउटा साँक्षीको रुपमा रहेको छ । बेनी आक्रमणका बेलामा भेटिएका हतियार सहित महत्वपूर्ण दस्तावेजहरु तत्कालिन राज्यपक्ष र केही ब्यक्तिले राखेका छन् । बेनी आक्रमण भन्दा वित्तिकै अहिले यो पोललाई सम्झिने गरिन्छ ।

युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई यूद्ध संग्रालयमार्फत आर्कषित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोलका बारेमा सामाजिक सञ्जालमा बेलाबेलामा भाइरल समेत हुने गरेको छ ।

बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्न सक्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन्। लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरुलाई समेत बेनीसम्म ल्याउन सकिन्छ । पोलसँगै आक्रमणका बेलामा प्रयोग गरिएका बजारभित्रका केही स्थानमा कृतिम संरचना समेत बनाउन सकिने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँको भनाई छ ।

 

Leave a Reply