शनिवार सम्पन्न भएको निःशुल्क आँखा परीक्षणमा मंगला गाउँपालिकामा सबैभन्दा धेरै मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लवको आयोजनामा मंगला माविमा आयोजित शिविरमा २ सय ५१ जनाको आँखाको जाँच गरिएकोमा १९ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।

त्यस्तै धवलागिरी गाउँपालिका–३मुनाको फलियागाउँमा १ सय ८७ बिरामीको उपचार गरिएकोमा ९ जना मोतियाविन्दु र छिमेकी पर्वतको जलजला गाउँपालिका–३,मल्लाजमा आयोजित शिविरमा १ सय ५१ जनाले चेकजाँच गरेकोमा ८ जनामा मोतियाविन्दुको समस्या देखिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए ।

यसअगाडी शुक्रबार अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा १५ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।
जनचेतनाको अभाव तथा उपचारको अभावमा ग्रामिण क्षेत्रमा रहेका बिरामीको पहिचान गरी निशुल्क सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको लायन्स क्लवले जनाएको छ ।

शिविरमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन लगायत स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिकिो उपस्थिती रहेको थियो । शिविरमा नेत्रज्योती संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरका उपचारपछि बृद्धबृद्धा खुसी हुदै घर फर्किएका थिए ।

लायन्स क्लवमार्फत म्याग्दीमा सबै स्थानीय तहमा शिविर सञ्चालन पछि मोतियाविन्दुको समस्या भएका बिरामीलाई बेनी अस्पतालमा चैत्र १४ र १५ गते शल्यक्रिया गरिने छ । आइतबार मालिका गाउँपालिकामा शिविरको आयोजना गरिएको छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन लायन्स क्लवले अपिल गरेको छ ।

 

Leave a Reply