म्याग्दीको एक गाउँमा पुरातात्विक महत्वका दुईसय वर्ष पुराना घरहरु भेटिएका छन् । जिल्लाको मंगला गाउँपालिका वडा नं २ सिममा २ सय वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घरहरु भेटिएका हुन् । ती घरहरु अझैसम्म पनि इतिहाँसको साक्षी बनेर रहेका छन्

विसं १८७०को दशकमा बागलुङका श्रीप्रसाद कडेंलले तत्कालिन शासकबाट विर्ता स्वरुप यो गाउँ पाउनुभएको र उहाँले नै यहाँ घरनिर्माण गर्नुभएको जानकारहरु बताउँछन् ।

त्यतिवेला जुन निर्माण सामाग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत अवस्थामा नै ती घरहरु रहेका छन् ।विर्ता स्वरुप पाएको यो गाउँ कडेलका सन्ततिले विसं १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई विक्रि गर्नुभएको र त्यसयता यहाँ कोमलसिंह खत्रीका सन्तानहरुको बसोबास रहेको छ ।

सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन,बला र टुडाल समेत रहेका ती घरहरुमा आँखिभm्याल,फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।
बेनी –दरवाङ सडक खण्डको नजिकै करिब ५ सय मिटरको दुरीमा रहेको सिम गाउँमा ६ वटा पुराना घरहरु रहेका छन् ।

तीमध्ये ‘बूढोघर’ नाम दिइएको तीन तले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आउनुभएका लप्टन कोमलसिंह खत्रीका नाति ६३ वर्षिय मनोज कुमार केसीले बताए ।यी घरहरु पुरातात्विक र प्राकृतिक खोज र अनुसन्धानका लागि समेत निकै महत्वपूर्ण भएकाले आफूले यी सम्पदाहरुको संरक्षण गरेको उनको भनाइथियो ।

घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट,सिंचाइकुलो, ढुङ्गा विच्छ्याएर बनाइएको चिटिक्कको बाटो,घर वरपर आँप र विभिन्न फलफूलहरुको बगैंचा,खानेपानी,विद्युत र संचारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।

यहाँका घरहरुको इतिहाँस दुईसय वर्ष पुरानो रहेको र आफूहरु यी सम्पदाहरुको संरक्षण गर्नका लागि बसाइ सरेर कतै पनि नगएको कोमलसिंह खत्रीकी नातिनीबुहारी विष्णु केसीले बताइन् । खत्री परिवारका सदस्यहरु अष्ट्रेलिया र अमेरिकामा छन् ।

जिल्लाकै प्राचिन सम्पदा र ऐतिहाँसिक महत्वको हुँदाहुँदै पनि सिम गाउँ ओझेलमा परेको र सरोकारवालाहरुले कुनै चासो नलिएको खत्री परिवारका सदस्यहरुको भनाइ रहेको छ ।

मल्लकालिन इतिहाँस,कला,संस्कृति र तत्कालिन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरहरुको प्रचारप्रसार गरी यी सम्पदाहरुको ऐतिहाँसिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रवल सम्भावना रहेको छ ।

यी घरहरुको संरक्षणमा जुटेका मनोज कुमारले जति महंगो मूल्य पाए पनि घर विक्रि नगर्ने बताए । उनले भने ‘पैसाको लोभमा हामीले हाम्रो थाँत थलोको अपमान गर्नु हुँदैन । मैले करोडौं रुपयाँ पाए पनि यी सम्पदाहरु नास हुन दिन्न ।’

Leave a Reply