बेनी नगरपालिका भित्रकै सबैभन्दा जोखिमयुक्त मानिने भकिम्ली जोड्ने मुल सडक ढलान तथा अन्य स्तरोन्नतिका लागि भोली सोमबारदेखि ११ दिनसम्म बन्द हुने भएको छ ।

दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले,स्वार्गाआश्रम हुदैं बागलुङको काठेखोला र ताराखोला गाउँपालिका जोड्ने सडकखण्ड अन्तरगत दुधेखोला आसपासमा सडक ढलानका लागि सानाठुला सवारीसाधन आवतजावत गर्न बन्द गरिएको दुधेखोल भकिम्ली सडक योजना उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्ती मगरले बताए ।

‘बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छौ,‘सकेसम्म समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ’ अध्यक्ष मगरले भने । उनका अनुसार भकिम्ली जाने बैकल्पिक सडकअन्तरगत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्ड अन्तरगत राखु र मरेक हुदै आवतजावत गर्न सकिन्छ ।

चैत ९ गते देखि २०७७ चैत २० गते सम्म बन्द हुने सडकको निर्माणकार्य आसपासमा बाटो बन्दको सूचना समेत राखिएको छ । निर्माणकार्य अवधिभर अटेर गरी ढलानलाई क्षती पुर्याउने प्रयास भएमा सम्बन्धित ब्यक्तिले नै क्षती अनुसारको मर्मत समेत गर्नुपर्ने भन्दै उक्त समयमा आवतजावत नगरिदिन अनुरोध सहित सूचना समेत जारी गरिएको सचिव ज्ञानबहादुर घर्तीले बताए ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेरडेढ दशकअघि ट्र्याक खोलेको सडक कच्ची र साँघुरो अवस्थामै रहेको छ। गतबर्ष पहिरोले सडक बगाएपछि स्थानीयले सरकारी बजेटसँगै निर्माणकार्यमा श्रमदान समेत गर्ने गरेका छन् । सडकको स्तरोन्नतिले पछिल्लो केहीबर्ष यता निरन्तरता पाइरहेको छ। ढलान, नाली, सोलिङ, कच्ची नाली ग्याबिनजालीले जोखिम न्यूनिकरणको प्रयास भइरहेको छ ।

 

Leave a Reply