जिल्ला प्रहरी कार्यालय म्याग्दीले नागरिकलाई आफूले दिने सेवा र सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले तयार गरेको कार्ययोजनामा विभिन्न ९ वटा बुँदाहरु उल्लेख गरिएको छ ।

प्रनाउ राईले तयार गरेको कार्ययोजनामा सरोकारवाला निकायहरुबीच समन्वय–सहकार्य, मानवअधिकारको संरक्षण–सम्बर्धनसम्बन्धी नविनतम कार्यको शुरुवातका कामहरु गर्ने, शुद्धिकरण अभियान, सूचना संकलन–विश्लेषण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन–सुधार, अपराध अनुसन्धान रोकथाम–न्युनिकरण, ट्राफिक व्यवस्थापन–सुधारलगायतका विभिन्न ९ बुँदा समेटिएको छ ।

कार्ययोजनाको प्राथमिकताका क्षेत्रहरुमा सरकारी निकाय, गैरसरकारी संघ संस्थाहरु, निजी क्षेत्रहरु, आम नागरिक, प्रचलित ऐन, नियम, कानुन, संबिधान, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, कानुन, प्रचलित रीतिरिवाज, धर्म संस्कृति, परम्परा, प्रहरी कर्मचारी, भौतिक स्रोत साधन, सेवा प्रवाह (आन्तरिक–बाह्य), जनशक्तिमा आधारित, सामाजिक बिकृति–बिसंगति, महिला तथा बालबालिका, साईबर अपराध, लागुऔषध सेवन–कारोबार, जघन्य अपराध, फैसला कार्यान्वयनलाई बनाईएको छ ।

यस्तै कार्ययोजनाको अन्य प्राथमिकतामा ट्राफिक संकेत व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, चेकजाँच, समन्वय–सहकार्य, बिपद व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, परिचालन कक्ष व्यवस्थापनलगायतलाई समेटिएको प्रनाउ श्यामकुमार राईले जानकारी दिएका छन् ।

कार्ययोजना लागू गर्नका लागि विभिन्न सरकारी, गैरसरकारी संस्था, निजी संस्था, विद्यालयलगायतसँग छलफल अन्तरक्रिया गर्ने, प्रहरी कर्मचारीलाई प्रशिक्षण दिने, माधनअधिकारकर्मीहरुलाई अनुशिक्षण दिने, महिला, बालबालिकाका लागि जानकारीमुलक कार्यक्रममार्फत हिंसाबारे जानकारी गराउँदै सचेत गराउने, सामाजिक सञ्जालमार्फत मानवअधिकारका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीहरुका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु गर्ने, आवश्यक निःशुल्क कानुनी दिने, थुनुवाहरुको मानवअधिकार रक्षाका लागि गतिविधि गर्ने लगायतका कार्यक्रमहरु गरिने उल्लेख छ ।

यस्तै नागरिकको सुरक्षाका लागि सुरक्षा चौकीहरु विस्तार गर्दै लैजाने, बजार क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सुरक्षा पोष्टहरु खडा गर्ने, मातहतका सुरक्षा निकायहरुलाई चुस्त, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजाने, यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा विभिन्न गतिविधि सञ्चालन गर्ने, कारागार सुरक्षा र कैदीबन्दीको सहज बसाइका लागि आवश्यक संरचना र विधि तयार गर्ने, आपराधिक गतिविधि नियन्त्रण, लागूऔषधि प्रयोग र कारोबार नियन्त्रणका लागि आवश्यक सक्रियता बढाउने, नागरिकको गुनासो सुनुवाइका लागि द्रुतशैलीमा कार्य गर्नेलगायतका गतिविधिहरु अघि बढाइने कार्ययोजनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय प्रनाउ राईको सक्रियतामा म्याग्दीको शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आइरहेको जिल्लाबासी बताउँछन् ।

Leave a Reply