उत्तरी/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी सडक ४ दिनक लागि बन्द हुने भएको छ ।

कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत्र १४ गते देखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी-जोमसोम सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभ्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी/जोमसोम सडक पूर्ण रुपमा बन्द हुँदा पर्ने असुविधा प्रति क्षमाप्राथी समेत प्रकट गरेको छ ।

कालिगण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम ७६ किमी सडक ४ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ ।

करिडोर अन्र्तगत प्याकेज नं. २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा गजुरमुखी जेभीले रककटिङको काम अघि बढाएको थियो ।त्यहा करिव १६ सय मिटर सडकको रककटिङ गर्नुपर्ने जनाईएको छ ।

मुस्ताङ प्रवेश गर्ने काभ्रेभीर सडक बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । बर्खायामको मौसममा पहिरो र नदी कटानका कारण सडक निर्माण बाधा पुग्दै आइरहेको छ ।

यहाँ निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुदै आइरहेको छ ।सडक स्तरोन्नति गरी सडक सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले उल्लेख गरे ।

झन्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ सालबाट निमार्ण सुरु भएको हो ।जसअन्र्तगत जोमसोम -कोरला ग्राभेल सडकको काम समेत भइरहेको छ ।

करिडोरका अनुसार जोमसोम-कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई हस्तान्तरण भइसकेको छ ।

बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम -कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको आयोजनाको भनाइ छ । annapurnapost

Leave a Reply