पर्वतको जलजला गाउँपालिका–२, गौराटोलमा अवस्थित समाज कल्याण आधारभुत विद्यालयमा कक्षा १ पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरिन् । आमाले दोस्रो विवाह गरेपछि घरमा बुबाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । नौ महिना कोखमा बास गराएर संसार देखाउँने आमाले नै साथ छोडेपछि उनलाई बुबाको मायाँ पाउन सकिनन् ।

अहिले मामाघरमा बस्न बसेर विद्यालयमा जाने गरेकी छन् । आशा जस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुबाले दोस्रो विवाह गर्दा उनी पनि अर्की मामाको निशानामा परिन्।

अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनले घर छोडेर आफन्तकोमा बस्न बाध्य भईन् । जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । बिवशका बुबाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।

बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुबा सिकिस्त विरामी छन्। बुबा लगातार विरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुबा बिरामी छन्, खानाबस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर विद्यालयमा जाने गरेकी छन् ।

विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ती क्षत्रीका अनुसार अभिभावकविहिन ५ बालबालिकाको विजोक रहेको बताए । ‘उनीहरुलाई पढ्न बर्षभरी आवश्यक पर्ने साम्रागीकै अभाव छ,‘सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ’ प्रअ घर्तीले भने ।

सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको बताए । यता वडा अध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए ।‘सिंगो दलित बस्तीका बालबालिकाहरुमा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ’ अध्यक्ष खत्रीले भने ।

अत्यन्त गरीब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा ठूलो संकट परेको छ । शैक्षिक साम्रागीदेखि ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय यूवा नविन जिसी र रविन जिसीले बताए ।

Leave a Reply