नेपाल सरकारले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेपछि पहिलोपटक म्याग्दीका धुब्र घिमिरे ‘विप्लब’ सार्वजनिक भएका छन् ।

गत फागुन २० गते सरकारले प्रतिबन्ध फुकुवा गरेपनि सार्वजनिक नभएका बेनी नगरपालिका–२ बगरफाँट निवासी एवम् धौलागिरी ब्यूरो इन्चार्ज घिमिरे मंगलबार मंगला गाउँपालिकामा आयोजित यूवा संगठनको प्रथम भेलामा सम्बोधन गदै म्याग्दीमा एकिकृत जनक्रान्तिको नेतृत्व यूवाको काँधमा रहेको बताएका थिए ।

भेलामा विप्लवले सत्ताको स्वार्थ र निर्वाचनको तयारीका लागि सरकारसँग सम्झौता नभएको बताए।‘जनक्रान्तिलाई शान्तिपूर्ण ढंगले अगाडी बढाउछौं, हामीले कसैसँग सम्झौता गदैंनौ’ नेता विप्लवले भने । राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको बताउँदै जनक्रान्तिको बाटो नमोडिएको बताए ।

नेकपाका सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन हुने भएकाले अव जिल्लाभित्र सबै क्षेत्रमा पुगेर पार्टीलाई बलियो बनाउने समेत उनले बताए । हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते नेकपाका गतिविधि सञ्चालनमा रोक लगाएपछि उनी भूमिगत भएका थिए ।

तत्कालिन माओवादीको जनयूद्धदेखि नै लोकप्रिय नेताको रुपमा चिनिन्थे । प्रतिबन्धित अवस्थामा राज्य पक्षले नियन्त्रणको प्रयास गरेपनि विप्लव साविकको धौलागिरीका चार जिल्लाभित्रै कार्यरत थिए । विप्लवलाई माओवादीभित्रका इमान्दार नेताको रुपमा समेत जिल्लाका राजनीतिक दलका नेताहरुले समेत चिन्ने गरेका छन् ।

भेलामा नेकपा म्याग्दी इन्चार्ज दिपाले म्याग्दी जिल्लाभित्र पार्टी लोकप्रिय रहेको बताउँदै प्रतिबन्धित अवस्थामा खुलेर समर्थन गर्ने अवस्था नभएपनि अव सजिलो भएको बताईन् । भेलामा मुस्ताङ इन्चार्ज फिल्टर, अनेमासंघ केन्द्रिय सदस्य उषा घर्तीमगर लगायतको उपस्थिती रहेको थियो ।

भेलामा नियन्त्रणमा रहेका सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजीका लागि समेत दवाव दिने निर्णय भएको थियो । यसैबीच भेलाले नविन विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय यूवा संगठन गठन गरेको छ। संगठनको उपाध्यक्षमा उज्जवल केसी, सचिव टंकप्रसाद पौडेल, कोषाध्यक्ष मनबहादुर रोका रहेका छन् ।

Leave a Reply