पर्वतको जलजला गाउँपालिका-२, गौराटोली इशा पाख्रिनकी आमा सपनाले केही समय अघि सुटुक्क दोस्रो विहे गरिन् । राती एउटै बिस्तारामा सुतेकी आमाले छाडेर गएको तीनवर्ष भयो । आमाको काखमा गुटमुटिने इशाले बुबालाई समेत चिन्दैनिन् ।

ज्यालामजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छाड्दा उनी एक वर्षकी थिईन् । काम खोज्न जान्छु भन्दै श्रीमान बेपत्ता भएका थिए । त्यसपछि सपनाले समेत चटक्कै छाडेर गएपछि इशा अलपत्र परिन् । आफन्तको घरमा आलोपालो बस्दै आएकी इशाको मार्मिक कथाले सबैका आँखा रसाउँछ । उनलाई आफन्तले पनि ‘बिरालोले बच्चा सारे झैं’ कहिले कता त कहिले सार्न थालेपछि उनलाई अप्ठेरो छ । तरपछि आफन्तको शरणमा नबसी उनलाई सुखै छैन ।

एकाविहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, सानो बुबाका छोराछोरीलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी इशा विद्यालयमा मेहनती, लगनशिल र इमान्दार विद्यार्थीको रुपमा चिनिन्छन् । आमा सम्झँदा अझैपनि इशाको आँखामा आँसु टिलपिल–टिलपिल गरिरहन्छन । जन्मदिने आमाबुबाले छाडेर गएपछि सानो बुबा कमल बोहोराले आश्रय दिएर घर नजिकैको समाज कल्याण आधारभुत विद्यालयमा कक्षा ५ मा उनी पढ्छिन् ।

विद्यालयभित्र रहेका करिब एकसय जना विद्यार्थीमध्ये उनको उपस्थिती फरक छ । नियमित विद्यालयमा आउने, थकित अवस्थामा पनि पढाईमा सक्रियता देखाउने र साथीहरुसँग हँसिलो अनुहारमा घुलमिल हुने गरेकी इशा साथीहरुले आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन् ।

उमेरले ११ वर्षमा टेकेकी इशाले बल्ल आफु अभिभावकविहीन भएको महसुस गर्न थालेकी छन् । एउटै घरमा बस्ने भाईबहिनी निजी विद्यालयमा जाँदा उनको मन चसक्क दुख्छ ।  सामुदायिक र निजी विद्यालयको शिक्षाभन्दा पनि आमाबुबा नभएकै कारणले सरकारी विद्यालयमा आएको भन्ने महसुस गर्न थालेकी इशाले विद्यालय भित्रको मायाले अभिभावक बिर्सिने प्रयास गर्छिन् ।

विद्यालयमा हुने कार्यक्रममा साथीहरु आमाबुबासँगै आउँदा उनको अनुहार मलिन भएर कालो बादल मडारिएजस्तै हुन्छ । हरेक दिन अभिभावक विद्यालयमा खाजा बनाउन आउने गरेको अवस्थामा उनलाई पनि माया गर्छन् ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा उनको आँखामा आशु टिलपिल गरिरहेका थिए । आमाबुबाका बारेमा बुझ्न खोज्दा सबैभन्दा पहिलो उनको आँसु झर्छ, लामो समयसम्म रुँदा उनलाई सम्हाल्ने साथीहरु पनि भावुक हुन्छन् ।  अभिभावकविहीन भएकालाई स्थानीय यूवा नविन जिसीले जन्मदिनको अवसरमा सहयोगको घोषणा गर्दा आँखामा टिलपिल आँसु बग्दापनि पनि इशा हाँस्दै थिइन ।

उनको आँसु पनि हाँसेरै टल्किने गरेको थियो । ‘इशा विद्यालयकै नमुना विद्यार्थी हुन्, आमाबुबाले छोडेर गएपछि विचल्लीमा परेकी छन्,’ विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षत्रीले भने । उनले भविश्यमा शिक्षक बन्ने भन्दै कक्षामा समेत अगाडी गएर पढाउने, शिक्षकलाई सघाउने गरेको समेत प्रअ क्षत्रीको भनाई छ । उनको जन्मदिन विद्यालयकै शिक्षकले मनाइदिने गरेका छन् ।

विद्यालयका शिक्षकहरुको सहयोगले समेत केही राहत पुगेपनि क्षमता अनुसारको पढाईका लागि उचित वातावरण नभएकाले सहयोगी हातको खोजीमा रहेको प्रअ क्षत्रीले बताए । आमाले छोडेपछि विचल्ली अवस्थामा उद्धार गरिएकी इशा कक्षा २ मा भर्ना भएकी थिईन् हाल । उनी कक्षामा उत्कृष्ट ५ विद्यार्थीमा पर्ने विद्यालयले जनाएको छ ।

Leave a Reply