जिल्ला प्रशासन कार्यालय म्याग्दीले यस वर्षको होली घरमै बसेर मनाउन आग्रह गरेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण दर पुनः बढेको भन्दै घरमै बसेर होली पर्व मनाउन र भिडभाड नगर्न सार्वजनिक अपिल गरेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधबार जारी गरेको ११ बुँदे अपिलमा फागु पर्व (होली) मा भिडभाड गरे कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ । पछिल्लो केहि दिनयता छिमेकीबाट आएका मजदुरमा कोरोना पुष्टी भएपछि म्याग्दीमा समेत जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा पालना गर्न अपिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ठूला भेला, जुलुस, सभा, सम्मेलन जस्ता भिडभाड हुने कार्यक्रमहरू नगर्न तथा अनमुतिमा समेत कडाई गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको छ । म्याग्दीमा होली पर्वको अवसरमा सांगितिक कार्यक्रम सहित विभिन्न मेलापर्वको आयोजना समेत गरिएको अवस्थामा प्रशासनले सचेत बनाएको हो ।

भौतिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र नियमित हात धुने लगायतका कोरोना सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ। प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले मापदण्ड लागु गर्न कडाई गर्ने निर्णय गरेको थियो । भारतबाट आएका पाँचजना मजदुरमा कोरोना पुष्टी भएपछि म्याग्दीमा कडाई गर्न प्रशासनलाई समेत दवाव परेको थियो ।

Leave a Reply