चैत्र १४ गते शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ काभ्रे भिर र कैकु खोलामा बिग्रिएको सडक मर्मत गर्नुपर्ने भएकाले चैत्र १७ गते मङ्गलबारसम्म कुनै पनि गाडी नचल्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
यस सडकखण्डको अन्य विकल्प नभएकाले यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा पर्ने भएका छन् । यो सडक खण्डमा बेलाबेला पहिरो जाने गरेको छ । कोरोना भाइरसका कारण लामो समयसम्म पूर्णरूपमा बन्द भएर सामान्य अवस्थातर्फ फर्किएको मुस्ताङको पर्यटन व्यवसायलाई अहिलेको सडक बन्दको कार्यले केही असर देखिने भएको छ । सडक यातायात बन्द भए पनि पोखरा–जोमसोम हवाई यात्रामार्फत भने मुस्ताङ जान सकिन्छ ।