तातोपानी कुण्डमा स्नान गर्ने बिरामीको भिड (फोटो फिचर)

0
237

म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ। जमिन मूनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानीको कुण्डमा नेपालका विभिन्न जिल्लाबाट स्नानका लागि बिरामी आएको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ।

तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए ।

गएको माघ १ गतेदेखि म्याग्दीसहित बाहिरी जिल्लाका सर्वसाधारण, नागरिकलाई लक्षित गरी कुण्ड खुलेसँगै पछिल्लोपटक तातोपानी क्षेत्रमा पर्यटकको चहलपहल बढेको अवस्थामा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै कुण्डमा स्नान गर्न आउने विरामी समेत घट्न सक्ने अनुमान समितिले गरेको छ। कुण्डभित्र स्नान गर्न अनिवार्य मास्कको ब्यवस्था मिलाइएको छ ।

अहिले कुण्डमा दैनिक ३ सयजना महिला तथा पुरुषहरुले स्नान गर्ने गरेको कुण्डका कर्मचारी मेखी खत्रीले बताईन् ।
तातोपानी कुण्ड खुलेसँगै त्यहाँका होटलहरु चहलपहल बढेको छ । सोलार तथा बिजुलीको प्रयोगबाट तताएको तातोपानी र प्राकृतिक तातोपानीको कुण्डमा नुहाउनु धेरै फरक हुने भएकाले विभिन्न रोगका बिरामी आउने गरेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको अन्य ठाउँमा पनि तातोपानीका कुण्डहरु रहेका छन् ।